‘नेपालमा दैनिक ६ जना महिला बलात्कृत हुन्छन्’

अधिकांश घटनामा चिनजानकै अपराधी


‘नेपालमा दैनिक ६ जना महिला बलात्कृत हुन्छन्’

सांकेतिक तस्विर

नेपालगन्ज १९ फागुन : नेपाल प्रहरीको एक तथ्यांकले देशमा बलात्कारको भयावह अवस्था रहेको देखाएकोछ । उक्त तथ्याङ्कले नेपालमा दैनिक ६ वटा बलात्कारका घटना हुने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयको पछिल्लो पाँच वर्ष र चालु आर्थिक वर्षको पुष मसान्तसम्मको तथ्याङ्कलाई हेर्दा यस्तो देखिएको हो ।

नेपालमा पछिल्ला पाँच वर्षमा १० हजार ७३८ बलात्कारका घटनाको मुद्दा दर्ता भएका छन्, भने चालु आर्थिक वर्षको पुष मसान्तसम्म ११ सय १७ बलात्कारका मुद्दा दर्ता भएका छन् ।

पछिल्लो ६५ महिनाको तथ्याङ्क विश्लेषण गर्ने हो भने यो संख्या दैनिक औषतमा ६ जना हुन आउँछ । आर्थिक वर्ष ०७४–०७५ मा बलात्कारका एक हजार ४५३ मुद्दा प्रहरीले दर्ता गरेको छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७५–०७६ मा यो संख्या बढेर दुई हजार २३० पुगेको छ ।

आर्थिक वर्ष ०७६–०७७ मा दुई हजार १४४ मुद्दा दायर भएको देखिन्छ भने आर्थिक वर्ष ०७७–०७८ मा दुई हजार ५३१ बलात्कार घटना भएका छन् । यसैगरी आर्थिक वर्ष ०७८–०७९ मा दुई हजार ३८० बलात्कारका मुद्दा दायर भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

चालु आर्थिक वर्षको पुष मसान्तसम्म एक हजार ११७ मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कमा देखिन्छ ।

अधिकांश घटनामा चिनजानकै अपराधी

प्रहरी प्रधान कार्यालयको उक्त तथ्याङ्क विश्लेषण गर्ने हो भने नेपालमा हुने अधिकांश बलात्कारका घटनामा चिनजानकै व्यक्तिको संलग्नता रहेको पाइएकोछ ।

आर्थिक वर्ष ०७४–०७५ मा बलात्कारका एक हजार ४५३ घटनामा ११ सय ५३ जना चिनजानकै व्यक्तिको संलग्नता देखिन्छ । भने आर्थिक वर्ष ०७५–०७६ मा दुई हजार २३० बलात्कारका घटनामा १८ सय ७० जना परिचित अभियुक्त देखिन्छन् ।

यस्तै आर्थिक वर्ष ०७६–०७७ मा दुई हजार १४४ मुद्दा दायर भएका छन् भने यी घटनामा १७ सय ६१ जना परिचित देखिन्छन् । त्यसैगरी आर्थिक वर्ष ०७७–०७८ मा दुई हजार ५३१ बलात्कार घटना हुँदा १९ सय ९९ जना परिचित नै घटनामा संलग्न देखिन्छन् ।

आर्थिक वर्ष ०७८–०७९ मा दुई हजार ३८० बलात्कारका मुद्दा दायर भएको देखिन्छ । यी घटनामा १९ सय ५६ चिनजानै व्यक्ति संलग्न भएको प्रहरी तथ्याङ्कमा देखिन्छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्म एक हजार ११७ मुद्दा दर्ता भएका छन् । जसमा ९२७ जना चिनजानकै संलग्न देखिन्छन् ।

चिनजानका व्यक्तिमा हाडनाता पर्ने आफन्त, छिमेकी, साथी, पारपाचुके भएका श्रीमान, शिक्षक, घरमालिक लगायत देखिएको प्रहरीको उक्त तथ्याङ्कले बताउँछ ।

परिवार र समाजमा सचेतनाकै कारण बलात्कारका घटनामा कमी आउने प्रहरीले बताएपनि कतिपय अवस्थामा बलात्कार जस्तो गम्भीर अपराध परिवारभित्रै लुकाउने अवस्था भएकाले पनि अनुसन्धानमा कठिनाइ हुने गरेको प्रहरीको भनाईछ ।