आगो नियन्त्रण गर्न दमकल छैन
गुगलबाट साभार सांकेतिक तस्विर
नेपालगन्ज ३ चैत्र : बाँकेमा डढेलो नियन्त्रणका लागि तदारुक्ता देखाइएकोछ । गर्मीयाम सुरु भएसंगै डढेलोको घटना अत्याधिक बढ्ने गर्छ । डढेलोका कारण धनजनको नोक्सानी समेत हुने गरेकोछ । वनजङ्गलमा हुने डढेलोका कारण वन्यजन्तुसंगै, वनस्पति, बुट्यानको नोक्सानी हुनुका साथै समयमै नियन्त्रणमा नआए वनजङ्गल आसपासको मानवबस्तीमा समेत यसले ठूलो क्षति पुर्याउने गरेकोछ ।
डढेलोबाट हुने दुर्घटना तथा डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय बाँकेले डढेलो नियन्त्रण ‘दस्ता’ बनाउन लागेको हो । डढेलो लागेपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय समुदाय र सरकारी निकाय एकैपटक खट्ने प्रबन्धका लागि सो दस्ताले काम गर्ने डिभिजन वन कार्यालयले जनाएको छ । उनीहरुलाई डढेलो नियन्त्रण गर्न विभिन्न तालिम दिएर सक्षम बनाइने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत गणेशबहादुर खड्काले जानकारी दिए ।
उनले वन डढेलो लाग्न नदिन प्रचारप्रसारलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सामुदायिक वनका उपभोक्ता, स्थानीय बासिन्दा, वन रक्षक, प्रहरीलगायत सरोकारवाला निकायकोे सहभागितामा जनचेतामूलक कार्यक्रम सञ्चालन हुने बताए ।
‘डढेलोका कारण वन्यजन्तुको बासस्थानदेखि काठ दाउरा, जैविक प्रणालीमा नै ठूलो क्षति हुने गरेको छ’, उनले भने । उनले डढेलो नियन्त्रणका लागि डढेलो नियन्त्रण सञ्जालसमेत गठन गरिन लागेको जानकारी दिँदै त्यसबाट विभिन्न सामुदायिक वन भएका गाउँमा डढेलो लाग्न नदिन प्रचारप्रसारका काम गरिने जनाए ।
उनले डढेलो नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समूहको ठूलो योगदान हुने उल्लेख गर्दै उपभोक्ता समितिको क्षेत्राधिकारभित्र कार्यक्रम बनाउने र कार्यक्रम लागू गर्न वन कार्यालयले सहयोग गर्ने बताए ।
सो सञ्जालमा स्थानीय उपभोक्ता समिति, वनकर्मीलगायतका सरोकार भएका निकाय रहनेछन् । आगलागी बढी हुने क्षेत्रमा गठन हुने उक्त सञ्जालले डढेलो लाग्न नदिन विभिन्न क्रियाकलाप सञ्चालन गर्ने र डढेलो लागेको अवस्थामा सबैको सहभागितामा नियन्त्रणमा ल्याउने प्रयास गर्नेछ ।
बाँकेमा गठन भएका प्रत्येक सञ्जालले आठदेखि १० सेटसम्म ‘फायर फाइटिङ’ उपकरणसमेत प्रयोगमा ल्याउने बताइएको छ । डढेलो लागेपछि फिल्डमा खट्नेका लागि विभिन्न पोशाककोसमेत प्रबन्ध गरिएको छ । हरेक वर्ष चैत्र पहिलो हप्तालाई वन डढेलो नियन्त्रण सप्ताहका रुपमा मनाउँदै आएको डिभिजन वन कार्यालय बाँकेले ‘शून्य वन डढेलो’ अभियानलाई केन्द्रित गरेर सतर्कता अपनाएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाको पूर्वदक्षिण क्षेत्र विनौना, फत्तेपुर, चुरे क्षेत्र, नरैनापुर, डुडुवालगायतका वनमा धेरै डढेलो लाग्ने गरेको वन कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेश सरकारको वन डढेलो नियन्त्रण कार्यक्रम बाँकेबाट शुरु गरिएको छ ।
प्राकृतिक तथा मानवीय त्रुटीबाट डढेलो लाग्ने भएकाले वनजङ्गल र सो आसपास सलाई, लाईटर तथा आगोसम्बन्धिको काम गर्नु हुँदैन । गर्नै परेमा उच्च सावधानी अपनाउनुपर्ने हुन्छ ।
आगो नियन्त्रण गर्न दमकल छैन
यसैबीच, बाँकेको ८ पालिकामध्ये ५ पालिकामा आगालागिको घटना नियन्त्रका लागि दमकल उपलब्ध छैन । बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा मात्रै दमकल रहेकोछ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार अहिले ६ सय स्थानीय तह दमकलविहीन छन् । मन्त्रालयका अनुसार ६ महानगरसँग १९ वटा र बाँकी ७३ वटा नगरपालिकासँग ७३ वटा दमकल छन् । त्यसबाहेक ११ वटा उपमहानगरपालिकासँग दुई वटाको दरले २२ वटा दमकल छन् ।
झापाको कमल, मोरङको कानेपोखरी, सुनसरीको कोशी, तेह्रथुमको आठराई, भोजपुरको हतुवागडी, खोटाङको खोटेहाङ, उदयपुरको रौतामाई र बाँकेको नरैनापुर गाउँपालिकाबाहेक ४५२ वटा गाउँपालिकामा दमकल छैन । एक अग्नि नियन्त्रकका अनुसार एउटा दमकललाई सामान्यतः ७० लाख रुपैयाँभन्दा बढी मूल्य पर्छ । यसका लागि कम्तीमा तीन कर्मचारी २४ सै घण्टा खट्नुपर्छ ।
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक