डढेलो नियन्त्रणका लागि बाँकेमा बनाइदैँ ‘दस्ता’

आगो नियन्त्रण गर्न दमकल छैन


डढेलो नियन्त्रणका लागि बाँकेमा बनाइदैँ ‘दस्ता’

गुगलबाट साभार सांकेतिक तस्विर

नेपालगन्ज ३ चैत्र : बाँकेमा डढेलो नियन्त्रणका लागि तदारुक्ता देखाइएकोछ । गर्मीयाम सुरु भएसंगै डढेलोको घटना अत्याधिक बढ्ने गर्छ । डढेलोका कारण धनजनको नोक्सानी समेत हुने गरेकोछ । वनजङ्गलमा हुने डढेलोका कारण वन्यजन्तुसंगै, वनस्पति, बुट्यानको नोक्सानी हुनुका साथै समयमै नियन्त्रणमा नआए वनजङ्गल आसपासको मानवबस्तीमा समेत यसले ठूलो क्षति पुर्‍याउने गरेकोछ ।

डढेलोबाट हुने दुर्घटना तथा डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय बाँकेले डढेलो नियन्त्रण ‘दस्ता’ बनाउन लागेको हो । डढेलो लागेपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय समुदाय र सरकारी निकाय एकैपटक खट्ने प्रबन्धका लागि सो दस्ताले काम गर्ने डिभिजन वन कार्यालयले जनाएको छ । उनीहरुलाई डढेलो नियन्त्रण गर्न विभिन्न तालिम दिएर सक्षम बनाइने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत गणेशबहादुर खड्काले जानकारी दिए ।

उनले वन डढेलो लाग्न नदिन प्रचारप्रसारलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सामुदायिक वनका उपभोक्ता, स्थानीय बासिन्दा, वन रक्षक, प्रहरीलगायत सरोकारवाला निकायकोे सहभागितामा जनचेतामूलक कार्यक्रम सञ्चालन हुने बताए ।

‘डढेलोका कारण वन्यजन्तुको बासस्थानदेखि काठ दाउरा, जैविक प्रणालीमा नै ठूलो क्षति हुने गरेको छ’, उनले भने । उनले डढेलो नियन्त्रणका लागि डढेलो नियन्त्रण सञ्जालसमेत गठन गरिन लागेको जानकारी दिँदै त्यसबाट विभिन्न सामुदायिक वन भएका गाउँमा डढेलो लाग्न नदिन प्रचारप्रसारका काम गरिने जनाए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनले डढेलो नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समूहको ठूलो योगदान हुने उल्लेख गर्दै उपभोक्ता समितिको क्षेत्राधिकारभित्र कार्यक्रम बनाउने र कार्यक्रम लागू गर्न वन कार्यालयले सहयोग गर्ने बताए ।

सो सञ्जालमा स्थानीय उपभोक्ता समिति, वनकर्मीलगायतका सरोकार भएका निकाय रहनेछन् । आगलागी बढी हुने क्षेत्रमा गठन हुने उक्त सञ्जालले डढेलो लाग्न नदिन विभिन्न क्रियाकलाप सञ्चालन गर्ने र डढेलो लागेको अवस्थामा सबैको सहभागितामा नियन्त्रणमा ल्याउने प्रयास गर्नेछ ।

बाँकेमा गठन भएका प्रत्येक सञ्जालले आठदेखि १० सेटसम्म ‘फायर फाइटिङ’ उपकरणसमेत प्रयोगमा ल्याउने बताइएको छ । डढेलो लागेपछि फिल्डमा खट्नेका लागि विभिन्न पोशाककोसमेत प्रबन्ध गरिएको छ । हरेक वर्ष चैत्र पहिलो हप्तालाई वन डढेलो नियन्त्रण सप्ताहका रुपमा मनाउँदै आएको डिभिजन वन कार्यालय बाँकेले ‘शून्य वन डढेलो’ अभियानलाई केन्द्रित गरेर सतर्कता अपनाएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाको पूर्वदक्षिण क्षेत्र विनौना, फत्तेपुर, चुरे क्षेत्र, नरैनापुर, डुडुवालगायतका वनमा धेरै डढेलो लाग्ने गरेको वन कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेश सरकारको वन डढेलो नियन्त्रण कार्यक्रम बाँकेबाट शुरु गरिएको छ ।

प्राकृतिक तथा मानवीय त्रुटीबाट डढेलो लाग्ने भएकाले वनजङ्गल र सो आसपास सलाई, लाईटर तथा आगोसम्बन्धिको काम गर्नु हुँदैन । गर्नै परेमा उच्च सावधानी अपनाउनुपर्ने हुन्छ ।

आगो नियन्त्रण गर्न दमकल छैन

यसैबीच, बाँकेको ८ पालिकामध्ये ५ पालिकामा आगालागिको घटना नियन्त्रका लागि दमकल उपलब्ध छैन । बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा मात्रै दमकल रहेकोछ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार अहिले ६ सय स्थानीय तह दमकलविहीन छन् । मन्त्रालयका अनुसार ६ महानगरसँग १९ वटा र बाँकी ७३ वटा नगरपालिकासँग ७३ वटा दमकल छन् । त्यसबाहेक ११ वटा उपमहानगरपालिकासँग दुई वटाको दरले २२ वटा दमकल छन् ।

झापाको कमल, मोरङको कानेपोखरी, सुनसरीको कोशी, तेह्रथुमको आठराई, भोजपुरको हतुवागडी, खोटाङको खोटेहाङ, उदयपुरको रौतामाई र बाँकेको नरैनापुर गाउँपालिकाबाहेक ४५२ वटा गाउँपालिकामा दमकल छैन । एक अग्नि नियन्त्रकका अनुसार एउटा दमकललाई सामान्यतः ७० लाख रुपैयाँभन्दा बढी मूल्य पर्छ । यसका लागि कम्तीमा तीन कर्मचारी २४ सै घण्टा खट्नुपर्छ ।