बाँकेका ११० जनासहित जनयुद्धमा ज्यान गुमाएकाहरू राष्ट्रिय सहिद घोषणा


बाँकेका ११० जनासहित जनयुद्धमा ज्यान गुमाएकाहरू राष्ट्रिय सहिद घोषणा

सांकेतिक तस्विर

नेपालगन्ज ४ चैत्र ः मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

यसरी सहिद घोषणा हुनेमा बाँकेका ११० जना सहित ८ हजार ३७१ जनाको नामावली राजपत्रमा प्रकाशित गरिएकोछ ।

नेपालको राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएको सशस्त्र संघर्ष, क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिलाई सम्मानस्वरुप फागुन १५ गते सहिद घोषणा गर्ने निर्णय भए अनुसार उनीहरूको नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरिएको हो ।

सूची अनुसार सबैभन्दा बढी रोल्पाका ७५३ जना सहिद रहेका छन् भने त्यसपछि क्रमशः दोस्रोमा रुकुमका ५८४ जना, तेस्रोमा कालिकोटका ४३३ जना रहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

सबैभन्दा कम सहिद रहेको जिल्लामा भक्तपुर ६ जना, काठमाडौं ७ र ललितपुर १४ जना रहेका छन् ।

गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म सहिद भएकाको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

जनयुद्धका सहिदहरूले राष्ट्रिय सहिदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भएपछि उनीहरूले राष्ट्रिय सहिदको मान्यता पाउन सकेका थिएनन् ।

यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकले राष्ट्रिय सहिदको मान्यता पाएका छन् । राष्ट्रिय सहिदका परिवारले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन् ।