खोटाङ १५ चैत्र : खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन् ।
मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सोम मगर, खोटाङकै केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका सुजन खड्का, भोजपुरको षडानन्द नगरपालिका–८ दिङ्लाका सुमन तामाङ र प्रकाश तामाङ तथा चितवनको खैरहनी नगरपालिका–१ बहेरीका सनम दराई रहेका छन् । मलेसियाको जलनसिहलास्थित एउटा घरको कोठामा बन्दी अवस्थामा रहेका उनीहरूले उद्धारका लागि विभिन्न सञ्चारमाध्यममार्फत हारगुहार गरिरहेका छन् ।
काठमाडौँको गौशलास्थित उत्सव म्यानपावर कम्पनीमार्फत मलेसिया पुगेका उनीहरूले फ्रि भिसा र फ्रि टिकट भए पनि फरक–फरक एजेन्टलाई फरक–फरक परिमाणको धरौटी रकम बुझाएको पाइएको छ । दैनिक आठ घन्टाका दरले हप्ताको छ दिन काम गर्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म कुनै कम्पनीले जिम्मा नलिएको खार्मीका सोमले जानकारी दिए ।
‘यहाँ ल्याएर छाडेपछि सुरुमा १८ दिन काम लगायो । अहिले हामी आएको पाँच महिना बितिसक्यो । कम्पनीका मान्छे भेट्नसमेत आएका छैनन्’, उनले भने, ‘नेपालस्थित म्यानपावर कम्पनीका प्रतिनिधिलाई फोन गर्दा विभिन्न बहाना बनाएर धम्की दिन थालेका छन् । हामीलाई बन्दी बनाएर राखिएको छ ।’ -रासस
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ