सीमामा ‘देहात’को पैसा असुली धन्दा, नदिए एसएसबीलाई बुझाईदिने धम्की


सीमामा ‘देहात’को पैसा असुली धन्दा, नदिए एसएसबीलाई बुझाईदिने धम्की

नेपालगन्ज १५ चैत्र : नेपाल र भारत दुवै देशमा मानव बेचविखनविरुद्ध काम गर्ने गैरसरकारी संस्था क्रियाशील छन् । दुवै देशका यस्ता संस्थाबीच समन्वय र सहकार्यमा बेचबिखनको जोखिममा रहेका र बेचिएकालाई उद्धार गरिन्छ । आआफ्नो देश सकुसल फिर्ता पठाइन्छ ।

नेपाल–भारतबीच खुला सीमानाका भएका कारण पनि अन्य देशभन्दा यहाँ बेचविखन लगायतका अपराधको जोखिम भने उच्च रहन्छ । तर, मानव बेचविखन विरुद्ध क्रियाशील भारतीय एक संस्थाले सोधपुछका नाममा नेपालीसँग पैसा असुल्ने गरेको पाइएकोछ ।

मानव बेचविखनविरुद्ध काम गर्ने भारतीय गैरसरकारी संस्था देहातले सोधपुछका नाममा पैसा उठाउने गरेको पाइएको हो ।

नेपालबाट भारत जाने नेपाली महिला र पुरुषलाई रुपैडिहास्थित एसएबी कार्यालय अगाडी चेकजाँच गर्ने नाममा देहातका कर्मचारीले पैसा लिने गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

केहि महिनाअघि पहाडी जिल्लाबाट विवाह गरेर एक जोडी नेपालगन्ज नाकामा आइपुगे । उनीहरु भारतमा रोजगारीका लागि जान थालेका थिए । शंका लागेर नाकामा नेपालतिरै बसेको एउटा मानव बेचविखन विरुद्ध काम गर्ने संस्थाले सोध पुछ ग¥यो । विवाह गरेर आएको भएपनि उनीहरुको साथमा विवाह दर्ताको कागज थिएन । संस्थाका कर्मचारीले केटा र केटीका अभिभावकलाई फोन गरे । दुवैतर्फका आमा र बुवाले विवाह गरेर जान थालेको बताए । आमा बुवाले नै विवाह गरेर जान थालेको बताएपछि नेपाली संस्थाले ती जोडीलाई छोडिदियो ।

त्यही जोडीलाई नाका पार भएपछि देहातका कर्मचारीले सोधपुछ गरे । केहीबेरको सोधपुछ र केरकारपछि देहातका कर्मचारीले आफ्नो मोबाईलमा पाँच सय अंक टाईप गरेर देखाए । नेपालमै धेरैबेर केरकार र अनुसन्धानपछि भारतीय सीमामा पुगेका उनीहरु देहातको गैरकानूनी मनपरी व्यवहारबाट डराएका पहाडी जिल्लाका त्यो जोडी अन्ततः प्रतिब्यक्ति पाँच सय रुपैयाँ दिएर आफ्नो गन्तब्यमा लागे ।

भारतीय एसएसबीको ठिक अगाडीपट्टी डेस्क राखेर नेपालबाट भारत जाने नेपालीलाई केरकार गर्ने देहातका कर्मचारीले मोबाईलमा टाइप गरेको रकम नदिए एसएबीलाई बुझाईदिने धम्की दिने गर्दछन् । यो कार्य उनीहरुको दिनहुँको काम हो ।

देहातका कर्मचारीले दिनहुँ प्रति व्यक्ति ५ सय, एक हजार रकम असुली गर्दछन् । नदिए विभिन्न डर, धम्की देखाउने, हप्काउने र तुक्ष ब्यवहार समेत गर्ने गर्दछन् । नेपालीबाट पैसा उठाउने ‘धन्दा’मा सक्रिय देहातमा नेपालका दुई जना महिला कर्मचारी रहेकाछन् ।

बेचविखन विरुद्ध काम गर्ने नेपाली एक संस्थाकी प्रतिनिधीले सेतोखरीसँग कुरा गर्दै भनिन्–‘मानव बेचविखनको फेरिदोँ अवस्था र त्यसैमा बेचविखन विरुद्ध काम गर्ने भनि अघि बढेको संस्थाले नै पैसा असुली गर्न थालेपछि हामीप्रति समेत नकारात्मक सन्देश फैलिएकोछ ।’

मानव बेचविखनविरुद्ध काम गर्ने नेपाली संस्थासमक्ष यस्ता धेरै गुनासो आउने गरेको छ । त्यही देहातसम्बद्धले नेपालमा हुने मानव बेचबिखन विरुद्धको कार्यक्रममा आएर चर्को भाषण र ठूला गफ छाँट्ने गरेको पाइएकोछ ।