मापदण्ड विपरित कोहलपुरको बधशाला बन्द


मापदण्ड विपरित कोहलपुरको बधशाला बन्द

कोहलपुर १६ चैत्रः बाँकेको कोहलपुर नगरपालिका ४ बेलनपुरस्थित बधशाला तत्कालका लागि बन्द गरिएको छ । मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएपछि बधशालामा पशुबध गर्न रोक लगाइएको कोहलपुर नगरप्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।

कोहलपुर नगरपालिकाको अगुवाईमा भएको अनुगमनमा स्थानीय नसिव इद्रिसीले अनुमति नलिएरै राँगा भैसी काट्ने गरेको र अर्का एक जनाले अनुमति लिए पनि मापदण्दको पालना नगरेको पाइएपछि बधशाला तत्कालका लागि बन्द गरिएको थापाले बताए ।

कोहलपुर नगरपालिका–४ का वडा अध्यक्ष मुबारक अलि गुल्जार, नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख बीरबहादुर विक, पशु शाखा प्रमुख गोविन्द रोकाय, ईलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक महेश आचार्य, कुखुरा विकास फर्म खजुराका प्रमुख डाक्टर शंकर न्यौपाने लगायतको टोलीले बधशालाको अनुगमन गरेको हो ।

स्थानीयबासीले पनि ती बधशालाबारे स्थानीय सरकारलाई गुनासो गर्दै आएका थिए । रांगाभैंसी काट्ने ठाउँको उचित सरसफाई नगरेको, त्यहाँबाट निस्कने फोहोर व्यवस्थापन नगरेको, कतिपय फोहोर नालामा मिसाउने गरेको लगायतको गुनासो स्थानीयको छ ।

Kids Festival 2022
kanti aarogya hospital

पशु स्वास्थ्य तथा पशु ऐन २०५५, वातावरण संरक्षण ऐन ०७६, पशु बधशाला र मासु जाँच ऐन २०५५ को मापदण्डमा रहेर मात्रै पशु बधशाला सञ्चालन गर्न दिने निर्णय भएको अनुगमन समितिका सदस्य डाक्टर न्यौपानेले बताए ।