गिट्टीको थुप्रोमा भेटियो टाउको, पहिचान खुल्न सकेन


गिट्टीको थुप्रोमा भेटियो टाउको, पहिचान खुल्न सकेन

बैतडी २२ वैशाख : पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन । गत आईतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेट्टिएको थियो ।

टाउकोलाई परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ । तर, अझै रिपोर्ट नआएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । सुर्नया गाउँपालिकाको बाचपानीबाट ल्याएको गिट्टीमा मानिसको टाउको भेटिएको थियो ।

‘टाउको फेला परेपछि कसको हो भनेर पहिचान गर्न अस्पताल पठाएका छौँ । अस्पतालको रिपोर्टपछि सबै कुरा खुल्छ,’ उनले भने । टाउकोको डिएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइने प्रहरी निरीक्षक जोशीले बताए ।

‘अस्पतालको रिपोर्ट आएपछि टाउकोको नमूना सङ्कलन गर्ने र परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउँछौँ,’ उनले भने ।

Kids Festival 2022
kanti aarogya hospital
add

घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गिट्टी ल्याइएको भनिएको बाचपानी क्षेत्रमा अनुसन्धानलाई केन्द्रित रहेको प्रहरी निरीक्षक जोशीले बताए ।

‘बाचपानी वरपरका क्षेत्रका कुनै मानिस हराएका थिए कि भनेर सोधपुछ भइरहेको छ । गिट्टी ल्याएको स्थानमा शरीरको अन्य भाग पनि मिल्छ कि भनेर खोज्दै छौँ,’ उनले भने । -रासस