ठगी मुद्दाको आरोपीलाई प्रहरीको संरक्षण

रकम लिएको आरोप गलत हो, प्रमाणित भए जागिर छाड्छु: असई गंगा, प्रहरीले आफू अनुकुल पारेर काम गर्दैन: डिएसपी घर्ती


ठगी मुद्दाको आरोपीलाई प्रहरीको संरक्षण

नेपालगन्ज २५ वैशाख : ऋण दिने भन्दै झुक्याएर कागज गरी ठगी गर्ने बाँके डुडुवाका एक आरोपीलाई प्रहरीले संरक्षण गरेको खुलासा भएको छ । बाँके डुडुवा गाउँपालिका वडा नम्बर–२ रामनगरका करिब ४५ वर्षीय रामआसरे यादवलाई ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएपनि ‘प्रहरीले पैसा लिएर खोजविन नै नगरी मान्छे फेला नपरेको भन्दै कागज बनाएर’ जिल्लामा पठाएको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् ।

ठगी मुद्दाका आरोपी यादव खुलेआम गाउँघरमै घुमिरहे पनि प्रहरीले नखोजेरै नभेटिएको भनी मुचुल्का कागज गर्नु कहाँको नियमसँगत कानून हो, एक स्थानीयले सेतोखरीलाई प्रतिक्रिया दिए । उनी भन्छन्,–‘पैसा दिएमा कुनै पनि कानून नलाग्ने, यो कस्तो प्रहरी प्रशासन हो, अदालतले पक्राउ गर्ने आदेश गरेको छ, तर प्रहरीले समात्दैन उल्टै पैसा खान्छ ।’

यस विषयमा बेतहनी प्रहरी चौकीका इन्चार्ज असई गंगा थापाले स्पष्ट जवाफ नदिई यादवलाई खोजविन गरि जिल्लामा पठाउने भनि आदेश अनुसार आफुले घरमा खोजेको तर, नभेटेपछि मुचुल्का कागज बनाएर पठाएको प्रतिक्रिया दिए ।

आरोपी यादव फेला नपरेपछि खोजविन जारी रहेको र फेला नपरेको भनि जिल्लामा मौखिक खबर गरेका हौं, उनले –‘आफुले पैसा लिएर कागज नबनाएको, रकम खाएर आरोपी समातेन भन्नु गलत हो । पैसा दिएको ब्यक्ति र पैसा प्रमाणित गरे जागिर छोड्छु ।’

Kids Festival 2022
kanti aarogya hospital

घरपरिवारको एक्लो घरमुलीको रुपमा रहेकी बाँके डुडुवा गाउँपालिका–२ उचुवा बाबाकुट्टीकी ७५ वर्षिय कबुतरादेबी अहिरले डेढ वर्षअघि रामआसरेसँग ऋणका लागि पैसा मागेको बेला रामआसरेले नेपालगन्जस्थित मालपोत कार्यालयमा ल्याएर रु आठ लाखमा करिब दुई कठ्ठा जग्गाको झुक्काएर दृष्टिबन्धक गरि बजारमा पैसा चोरी हुने डर रहेको र घरमा दिने भनेर ल्याएको तर, उनलाई यादवले पैसा नदिएर आलटाल गरेर टार्दै गएको पीडितले सेतोखरीसँग दुखेसो पोखिन् ।

कबुतराले तमसुक भनेर सही छाप गरेको तर, पछि जग्गा नै कब्जा गरेपछि आफु न्यायका लागि अदालतसम्म पुगेको बताइन् । उनले भनिन्, ‘मलाई फकाएर ऋणको पैसा दिने लोभमा एक रुपियाँ पनि दिएन, उल्टै मेरो जग्गा हड्प्यो, मैले पछि थाह पाए ।’ कबुतराको ठगी विरुद्धको निवेदन समेत प्रहरी कार्यालयले दर्ता गर्न मानेन त्यसका लागि उच्च अदालतको परामादेशपछि मात्र मुद्दा दर्ता भएको थियो ।

हाल अदालतले उक्त मुद्दामा पक्राउ पुर्जी जारी गरे पनि आरोपी अझँै पक्राउ नपरेर प्रहरीले समेत संरक्षण गरेको हो ।

लेनदेनको कार्यमा निकै सक्रिय यादवले गाउँका अन्य व्यक्तीहरुलाई समेत ठगी गरेको स्थानीयबासीले बताए । यस विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरसँग बुझ्दा उनले प्रहरीले पैसा खाएर ब्यक्ति पक्राउ नगरेको भन्ने आरोपप्रति विस्वास नभएको प्रतिक्रिया दिए ।

‘अनुसन्धानको विषयमा रहेको कुरा जो सुकैले जस्तो सुकै टिकाटिप्पणी गर्छ तर, सुक्ष्मरुपले अनुसन्धान गर्दा पैसा खायो भन्नु निराधार हो’ प्रहरी नायब उपरीक्षक घर्तीले भने ।

‘प्रहरीले आफ्नो प्रक्रिया पुरा गर्छ, गाउँमै रहेको भएपनि प्रहरीले आरोपीलाई पक्राउ गर्छ, देश नै छाडेर भागेको भएपनि इन्टरपोलबाट समात्छ’ घर्तीले भने–‘प्रहरीले आफू अनुकुल पारेर काम गर्दैन यदी त्यस्तो भएको छ भने पनि त्यसको अनुसन्धान गरि दोषी पाइए प्रहरीलाई कारबाही हुन्छ ।’