स्ट्रीट फुडलेन सञ्चालन गर्न सरोकारवाला सहमत, असार १५ मा दही चिउरा खाएर सुरु गरिदैँ


स्ट्रीट फुडलेन सञ्चालन गर्न सरोकारवाला सहमत, असार १५ मा दही चिउरा खाएर सुरु गरिदैँ

नेपालगन्ज २३ जेठ : नेपालगन्जको त्रिभुवन चोक क्षेत्रमा आगामी असार १५ गतेदेखी ‘स्ट्रीट फुडलेन’ सञ्चालनमा आउने भएको छ ।

नेपालगन्जमा मौलिक स्वादको बजार लगाउने अवधारणालाई कार्यान्वयनका लागि यसअघि जेठ दोस्रो हप्तादेखि स्ट्रीट फुडलेन कार्यान्वयन गर्ने तयारी भएपनि केही तयारी अपुरो भएपछि आगामी असार १५ गतेदेखि कार्यान्वायनमा ल्याउन लागिएको हो ।

पश्चिम नेपालको प्रमुख औद्योगिक तथा ब्यापारिक नगरी नेपालगन्जको मुख्यबजार, त्रिभुवन चोकलाई केन्द्र बनाएर नेपालगन्जका परम्परागत परिकारका मौलिक स्वादको बजारीकरणका लागि आगामी असार १५ गते दही चिउरा खाएर फुडलेन कार्यान्वयनमा आउने भएको हो ।

असार १५ दहीचिउरा खाने दिनका रुपमा मनाइन्छ । स्थानीय स्वादलाई एकिकृत गरेर एकै ठाउँबाट पस्किने उद्देश्यले स्ट्रीट फुडलेन सञ्चालनमा ल्याउन लागिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा मंगलबार भएको सरोकारवालाबीचको छलफल पश्चात असार १५ गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टर अध्यक्ष एवम् नेपालगन्ज फुडलेन व्यवस्थापन समितिका संयोजक श्रीराम सिग्देलले जानकारी दिए ।

उक्त छलफलमा उपस्थित भएका नगरप्रमुख प्रशान्त विष्टले नेपालगन्जलाई पर्यटनसँग जोड्न स्ट्रीट फुडलेन महत्वपूर्ण सावित हुने धारणा राखे । यसका लागि उपमहानगरपालिकाले ‘स्ट्रीट फुडलेन’ बाट उत्पादन हुने फोहोर ब्यवस्थापन, शौचालयको ब्यवस्था, ‘स्ट्रीट लाईट जडान गर्ने, ट्राफिक ब्यवस्थापन लगायत काममा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । यस्तै उपमहानगरपालिकाले शान्ति सुरक्षाका सवालमा स्थानीय प्रहरी प्रशासनसँग छलफल अगाडी बढाइसकेको उनले बताए ।

समितिका संयोजक सिग्देलले स्ट्रीट फुडलेनले नेपालगन्जलाई चिन्न सजिलो हुने र नेपालगन्जलाई पनि चिनाउने बताए । यसका लागि सामुहिक प्रतिवद्धता आवश्यक रहेको उनको भनाई छ । ‘यो सुरु भएपछि नियमित रुपमा समन्वय र अनुगमन गर्नुपर्छ, यसको लागि एउटा टिम बनाउनुपर्छ,’ सिग्देलले भने ।

पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख (उपसचिव) दिनेश अधिकारीले स्ट्रीट फुडलेन पर्यटनसँग जोडिएको विषय भएको बताए । यसवर्ष पर्यटन डिभिजन कार्यालयसँग सहयोग गर्ने कुनै त्यस्तो कार्यक्रम नभएपनि आगामी आर्थिक वर्षमा सहकार्य गर्ने उनले प्रतिवद्धता जनाए ।

छलफलमा उपस्थित भएका नेपालगन्जका पुर्वमेयर विजय गुप्ता, उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्धिन राई, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष नन्दलाल बैश्य, संघका प्रतिनिधि भिम रानाभाट, वाणिज्य कार्यालय नेपालगन्जका विष्णुप्रसाद धिताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत अञ्जु हुमागाई, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–८ का वडाअध्यक्ष रजनीश वाजपेयी र वडा नम्बर–११ का नन्दकिशोर कश्यप, सामाजिक अभियन्ता डाक्टर बिनोद कर्ण, पर्यटन ब्यवसायी, सञ्चारकर्मी, पत्रकार लगायतले स्ट्रीट फुडलेन नेपालगन्जको समृद्धिसँग जोडिएको भन्दै चाडो कार्यान्वयनमा ल्याउनुपर्ने जोड दिएका थिए ।

थप समाचार

त्रिभुवन चोक क्षेत्रमा नेपालगन्जिया परिकार ब्राण्डिङ्ग, जेठ दोस्रो हप्तादेखि ‘स्ट्रीट फुडलेन’ कार्यान्वयन हुने

नेपालगन्जिया परिकार ब्राण्डिङ्ग गर्न त्रिभुवन चोक क्षेत्रमा ‘स्ट्रीट फुड लेन’ बनाइने

यी हुन् ‘नेपालगन्जीया’ खानाका परिकार