सिकलसेलका बिरामीलाई राप्तीसोनारीले बीमा कार्यक्रममा समेट्दै


सिकलसेलका बिरामीलाई राप्तीसोनारीले बीमा कार्यक्रममा समेट्दै

राप्तीसोनारी(बाँके) २४ जेठ : बाँकेको राप्तीसोनारी गाउँपालिकाले सिकलसेल एनिमियाका बिरामीको निःशुल्क बीमा गर्ने भएको छ ।

स्वास्थ्य कार्यालय, बाँकेले राप्तीसोनारी गाउँपालिका –२, कचनापुरमा सिकलसेल एनिमियाका बिरामीहरुको रिपोर्ट सार्वजनिकीकरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले ०८०÷८१ देखि पालिकाभित्र रहेका सिकलसेलका बिरामीको पालिकाले निःशुल्क बीमा गरिदिने बताए ।

‘सिकलसेल भएका बिरामीले जीवनभरि औषधि खानु पर्ने हुन्छ । निम्न आयस्रोत भएकालाई औंषधि किन्न मुस्किल हुन्छ । बीमा गरिदियो भने त्यसले धेरै सहज हुन्छ । अर्को वर्षदेखि सिकलसेलका बिरामीलाई पालिकाले बीमा कार्यक्रममा समेट्छ’, उनले भने, ‘बीमा बापतको शुल्क पालिकाले तिर्छ ।’

राप्तीसोनारीका ४ वटा वडामा स्याम्पलिङ गर्दा ११ जना सिकलसेलका बिरामी फेला परेको स्वास्थ्य कार्यालय, बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

पछिल्लो पटक वडा नम्बर–६ कमैयाडाँडामा ६३ जनाको नमूना जाँच गर्दा २ जना रोगी र ३६ जना वाहक फेला परेका छन् । भने वडा नम्बर– २ कचनापुरमा ४८७ जनाको नमुना जाँच गर्दा ३ जना रोगी र ४४ जना वाहक फेला परेका छन् । गत वर्ष वडा नम्बर ३ र ४ मा २ हजार १९५ जनाको नमूना जाँच गर्दा ६ जना रोगी र २९१ जना वाहक फेला परेका थिए ।

थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले विज्ञहरुलाई बस्तिस्तरमै पु¥याएर स्थानीयबासीलाई सचेत बनाउने काम गरिरहेको छ । भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डे, मनोसामाजिक परामर्शदाता उषा ओलीसहितको टिमले रोगीहरुलाई परामर्श समेत दिने गरेको छ ।

के हो सिकलसेल एनिमिया ?

चिकित्सकका अनुसार सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशाणुगत रोग हो । मानिसको रगतको कोशिकामा क्रोमोजोम हुन्छ र त्यसमा जिन हुन्छ । जिन धेरै प्रकारका हुन्छन्। तिनमा खराबी आएमा सिकलसेल एनिमिया हुन्छ । यो रोग आमाबाबु दुवैमा भए सन्तानमा पनि सङ्क्रमित हुने धेरै सम्भावना रहन्छ । तर, आमा वा बाबु कुनै एक जनामा मात्र छ भने सन्तानमा देखिने सम्भावना न्यून हुन्छ । सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोबिनलाई असर पार्ने वंशाणुगत रोग हो । रातो रक्तकोषको आकार परिवर्तन भई सिकल अथवा हँसियाको रूप लिने हुनाले यसलाई सिकलसेल एनिमिया भनिन्छ ।

सिकलसेल भएपछि रगतको कोशिकाले हँसियाको आकार लिन्छ र त्यसले विभिन्न समस्या निम्त्याउने गर्छ । त्यसलाई नेपालीमा कालो जन्डिस भन्ने गरिएको छ । यसले गर्दा कलेजो बढ्नुका साथै इन्फेक्सन हुन्छ र मुख्यतः रगतको कमी हुन्छ । हँसिया आकारको रातो रक्तकोष धेरै कडा एवं एकापसमा टाँसिने हुन्छ । त्यस्ता बिरामीको रगतमा अक्सिजनको कमी भई भित्री अङ्गमा नोक्सानी हुनुका साथै मस्तिष्कघात हुनसक्छ ।

यसको दुखाइ एकदमै कडा हुन्छ । स्वस्थ व्यक्तिमा रक्तकोष गोलो आकारको हुन्छ भने सिकलसेल एनिमिया भएका व्यक्तिको हँसिया आकारको हुन्छ । सामान्यतया सेलको आयु एक सय २० दिनको हुन्छ, तर, सिकल भएको हँसिया आकारको सेलको आयु २१–२२ दिनको हुन्छ । त्यसकारण शरीरमा अक्सिजन र पोषण नपुग्दा मांशपेसी र जोर्नीमा धेरै पीडा हुन्छ । कतिपय बिरामीको रोग पहिचान गर्न नपाउँदै मृत्यु हुन्छ ।

सिकलसेलमा व्यक्तिपिच्छे फरक–फरक लक्षण देखिन्छन् । हाल नेपालमा थारू समुदायमा मात्रै देखिएको भनिए पनि विस्तारै सबै जातमा यो रोग देखिन थालेको छ, तर धेरै सङ्ख्यामा थारूहरूमा देखिएको छ । यो रोग थारू समुदायमा मात्रै हुन्छ भन्नु गलत भएको भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ डाक्टर राजन पाण्डे बताउँछन् ।

उक्त रोगको पूर्ण उपचारका लागि सबै थारू समुदायको रगत परीक्षण गरी लक्ष्यअनुसार उपचार गर्न सकिने सिकलसेल विज्ञ डाक्टर पाण्डे बताउँछन् । साथै यो रोग न्यूनीकरणका लागि जनचेतना जगाउन आवश्यक रहेको उनको भनाइ छ ।

आमाबाबुबाट बच्चामा सर्ने भएकाले सिकलसेल भएका बिरामीले विवाह नगर्ने र यदि गरे पनि बच्चा नजन्माउने उनले बताए। त्यस्तै, सिकलसेल एनिमियाको बाहक भएकाले अर्को वाहक भएकासँग विवाह नगर्नसमेत उनले सुझाव दिए । दुवै बाहक भएमा बच्चामा सर्न सक्ने उनको भनाइ छ । तर, वाहक भएकाले सामान्य व्यक्तिसँग विवाह गर्दा बच्चामा नसर्ने उनको भनाइ छ ।

थप समाचार

सिकलसेलका बिरामीको निःशुल्क स्वास्थ्य बीमा गरिदैँ

सिकलसेल एनिमियाका बिरामी भन्छन्– एक त उपचार गर्दा लाखौं खर्च गरेको पीडा छ, अर्कातर्फ सहजै औषधि पाइँदैन

जानकीमा सिकलसेल अनुसन्धान केन्द्र निर्माण सुरु

सिकलसेल विरामीलाई लक्षित गरी बाँकेमा छुट्टै अस्पताल स्थापना गरिने

बिकराल बन्दै सिकलसेलसँगै थाईलेसमिया, उपचार अभावमा भौतारिदैँ अभिभावक

सिकलसेलका गर्भवती महिलामा मृत्युको जोखिम उच्च

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार गर्न माग

डब्लुएचओको ‘एक्सपर्ट प्यानेल’मा सिकलसेलका विशेषज्ञ डाक्टर पाण्डे मनोनित

‘सिकलसेल र थालेसेमियाका विरामीलाई राज्यले सम्बोधन गरेन’

राप्तीसोनारीका ५ जनामा सिकलसेल भेटिदाँ ४ जनामा थालसेमिया

बाँकेका जनप्रतिनिधी सिकलसेल र थालेसेमिया रोग नियन्त्रणमा प्रतिबद्ध

८ महिनादेखि सिकलसेल जाँच मेशिन वेकामे, अस्पताल उदासिन

सिकलसेल एनिमियाका बिरामी भन्छन्– एक त उपचार गर्दा लाखौं खर्च गरेको पीडा छ, अर्कातर्फ सहजै औषधि पाइँदैन

घोराहीमा सिकलसेल एनिमिया, थाल्सेमिया र प्रसूतिरोगीलाई निःशुल्क रगत

बारबर्दियामा १ सय ४ जना सिकलसेल विरामी