सिकलसेलका बिरामीको निःशुल्क स्वास्थ्य बीमा गरिदैँ


सिकलसेलका बिरामीको निःशुल्क स्वास्थ्य बीमा गरिदैँ

नेपालगन्ज १० वैशाख : सिकलसेल एनिमिया तथा थालेसेमिया रोगका विरामीहरुको निःशुल्क स्वास्थ्य बीमा हुने भएकोछ । बाँकेको कोहलपुर नगरपालिमा आगामी आर्थिक वर्ष ०८०–०८१ देखि सिकलसेल तथा थालेसेमियाका बिरामीहरुको निःशुल्क स्वास्थ्य बीमा हुने भएको हो ।

कोहलपुर नगरपालिकाले वडा नम्बर–१५ मा आयोजना गरेको सिकलसेल एनिमिया तथा थालेसेमिया रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रममा नगरपालिकाका उपप्रमुख संगिता सुवेदीले बंशाणुगत रोगका बिरामीहरुको नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने प्रतिबद्धता जनाएकी हुन् ।

‘आगामी आर्थिक वर्षदेखि सिकलसेल तथा थालेसेमियाका रोगीको निःशुल्क स्वास्थ्य बीमा नगरपालिकाले गर्छ,’ उपप्रमुख सुवेदीले अगाडी थपिन् –‘उपचार अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने सवालमा नगरपालिका प्रतिबद्ध छ ।’ उनले स्वास्थ्य कोहलपुर नगरपालिकाको पहिलो प्राथमिकता रहेको पनि उल्लेख गरिन् ।

नेपाल सरकारले अहिले सिकलसेलका रोगीलाई उपचार खर्च वापत एक लाख रुपैयाँ दिने गरेको छ । जनस्वास्थ्य समस्याकै रुपमा रहेको थालेसेमियाका बिरामीहरुलाई भने राज्यले उपचार खर्च दिने गरेको छैन । सिकलसेल र थालेसेमियाका बिरामीहरुले बाँचुञ्जेल उपचार गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । सिकलसेलका बिरामीलाई सरकारले उपलब्ध गराउने एक लाख रुपैयाँ रकम समेत अपुग हुने गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

कोहलपुर नगरपालिकाले सिकलसेल र थालेसेमियाका बिरामीलाई निःशुल्क स्वास्थ्य बीमा गरेर उपचारको पहुँचमा ल्याउने प्रयास लक्षित समुदायका लागि निकै उपयोगी भएको भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ डाक्टर राजन पाण्डेले बताए ।

थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल तथा थालेसेमियाका रोगीलाई स्वास्थ्य बीमामा समेट्न डाक्टर पाण्डेले नीतिगत पहलको परैवी गर्दै आएका छन् ।

कोहलपुर नगरपालिकाले सिकलसेल तथा थालेसेमियाका बिरामीहरुको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई कार्यान्वयन गरे पहिलो पालिका हुनेछ । डाक्टर पाण्डेका अनुसार उक्त रोग नियन्त्रणका लागि रोगको चेन ब्रेक गर्न ‘विवाह कुण्डली’ पालना गर्नुपर्ने हुन्छ ।

कोहलपुर नगरपालिकामा हालसम्म ११ हजार बढीको सिकलसेल तथा थालेसेमिया परीक्षण गर्दा सिकलसेलका ९२ जना रोगी, एक हजार बढी बाहक फेला परेका छन् । त्यसैगरी एक सय ५० जना थालेसेमियाका बाहक फेला परेका छन् ।

कोहलपुर नगरपालिका वडा नम्रब–१५ का वडाअध्यक्ष दिपेन्द्र कुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रममा सिकलसेल विज्ञ डाक्टर पाण्डे, कोहलपुर नगरपालिकाका सामाजिक विकास संयोजक इश्वरीप्रसाद विक, आर्थिक विकास संयोजक अनिता बुढा, स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरी लगायतको उपस्थिति रहेको थियो ।

के हो सिकलसेल एनिमिया ?

चिकित्सकका अनुसार सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशाणुगत रोग हो । मानिसको रगतको कोशिकामा क्रोमोजोम हुन्छ र त्यसमा जिन हुन्छ । जिन धेरै प्रकारका हुन्छन्। तिनमा खराबी आएमा सिकलसेल एनिमिया हुन्छ । यो रोग आमाबाबु दुवैमा भए सन्तानमा पनि सङ्क्रमित हुने धेरै सम्भावना रहन्छ । तर, आमा वा बाबु कुनै एक जनामा मात्र छ भने सन्तानमा देखिने सम्भावना न्यून हुन्छ । सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोबिनलाई असर पार्ने वंशाणुगत रोग हो । रातो रक्तकोषको आकार परिवर्तन भई सिकल अथवा हँसियाको रूप लिने हुनाले यसलाई सिकलसेल एनिमिया भनिन्छ ।

सिकलसेल भएपछि रगतको कोशिकाले हँसियाको आकार लिन्छ र त्यसले विभिन्न समस्या निम्त्याउने गर्छ । त्यसलाई नेपालीमा कालो जन्डिस भन्ने गरिएको छ । यसले गर्दा कलेजो बढ्नुका साथै इन्फेक्सन हुन्छ र मुख्यतः रगतको कमी हुन्छ । हँसिया आकारको रातो रक्तकोष धेरै कडा एवं एकापसमा टाँसिने हुन्छ । त्यस्ता बिरामीको रगतमा अक्सिजनको कमी भई भित्री अङ्गमा नोक्सानी हुनुका साथै मस्तिष्कघात हुनसक्छ ।

यसको दुखाइ एकदमै कडा हुन्छ । स्वस्थ व्यक्तिमा रक्तकोष गोलो आकारको हुन्छ भने सिकलसेल एनिमिया भएका व्यक्तिको हँसिया आकारको हुन्छ । सामान्यतया सेलको आयु एक सय २० दिनको हुन्छ, तर, सिकल भएको हँसिया आकारको सेलको आयु २१–२२ दिनको हुन्छ । त्यसकारण शरीरमा अक्सिजन र पोषण नपुग्दा मांशपेसी र जोर्नीमा धेरै पीडा हुन्छ । कतिपय बिरामीको रोग पहिचान गर्न नपाउँदै मृत्यु हुन्छ ।

सिकलसेलमा व्यक्तिपिच्छे फरक–फरक लक्षण देखिन्छन् । हाल नेपालमा थारू समुदायमा मात्रै देखिएको भनिए पनि विस्तारै सबै जातमा यो रोग देखिन थालेको छ, तर धेरै सङ्ख्यामा थारूहरूमा देखिएको छ । यो रोग थारू समुदायमा मात्रै हुन्छ भन्नु गलत भएको भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ डाक्टर राजन पाण्डे बताउँछन् ।

उक्त रोगको पूर्ण उपचारका लागि सबै थारू समुदायको रगत परीक्षण गरी लक्ष्यअनुसार उपचार गर्न सकिने सिकलसेल विज्ञ डाक्टर पाण्डे बताउँछन् । साथै यो रोग न्यूनीकरणका लागि जनचेतना जगाउन आवश्यक रहेको उनको भनाइ छ ।

आमाबाबुबाट बच्चामा सर्ने भएकाले सिकलसेल भएका बिरामीले विवाह नगर्ने र यदि गरे पनि बच्चा नजन्माउने उनले बताए। त्यस्तै, सिकलसेल एनिमियाको बाहक भएकाले अर्को वाहक भएकासँग विवाह नगर्नसमेत उनले सुझाव दिए । दुवै बाहक भएमा बच्चामा सर्न सक्ने उनको भनाइ छ । तर, वाहक भएकाले सामान्य व्यक्तिसँग विवाह गर्दा बच्चामा नसर्ने उनको भनाइ छ ।

थप समाचार

सिकलसेल एनिमियाका बिरामी भन्छन्– एक त उपचार गर्दा लाखौं खर्च गरेको पीडा छ, अर्कातर्फ सहजै औषधि पाइँदैन

जानकीमा सिकलसेल अनुसन्धान केन्द्र निर्माण सुरु

सिकलसेल विरामीलाई लक्षित गरी बाँकेमा छुट्टै अस्पताल स्थापना गरिने

बिकराल बन्दै सिकलसेलसँगै थाईलेसमिया, उपचार अभावमा भौतारिदैँ अभिभावक

सिकलसेलका गर्भवती महिलामा मृत्युको जोखिम उच्च

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार गर्न माग

डब्लुएचओको ‘एक्सपर्ट प्यानेल’मा सिकलसेलका विशेषज्ञ डाक्टर पाण्डे मनोनित

‘सिकलसेल र थालेसेमियाका विरामीलाई राज्यले सम्बोधन गरेन’

राप्तीसोनारीका ५ जनामा सिकलसेल भेटिदाँ ४ जनामा थालसेमिया

बाँकेका जनप्रतिनिधी सिकलसेल र थालेसेमिया रोग नियन्त्रणमा प्रतिबद्ध

८ महिनादेखि सिकलसेल जाँच मेशिन वेकामे, अस्पताल उदासिन

सिकलसेल एनिमियाका बिरामी भन्छन्– एक त उपचार गर्दा लाखौं खर्च गरेको पीडा छ, अर्कातर्फ सहजै औषधि पाइँदैन

घोराहीमा सिकलसेल एनिमिया, थाल्सेमिया र प्रसूतिरोगीलाई निःशुल्क रगत

बारबर्दियामा १ सय ४ जना सिकलसेल विरामी