जोखिमपूर्ण यात्रामा रहेका ५ सय ६६ जनालाई उद्धारसंगै पुर्नस्थापना


जोखिमपूर्ण यात्रामा रहेका ५ सय ६६ जनालाई उद्धारसंगै पुर्नस्थापना

नेपालगन्ज २५ जेठ : बेचविखनको जोखिमपूर्ण यात्रामा रहेका ५ सय ६६ जनालाई उद्धारसंगै पुर्नस्थापना गरिएको पाइएकोछ ।

प्रोटेक्ट परियोजना अन्र्तगत साथी संस्थाले नेपाल–भारत सीमानाका जमुनाहमा रहेको बुथबाट जोखिमपूर्ण यात्रामा रहेका ५ सय ६६ जना महिला, किशोरकिशोरी तथा पुरुषलाई उद्धारसंगै पुर्नस्थापना गरेको हो ।

साथीकी प्रोटेक्ट परियोजना कोर्डिनेटर लक्ष्मी घलेका अनुसार परियोजना लागु भएको पछिल्लो ४ वर्षमा सीमानाका जमुनाह हुँदै जोखिमपूर्ण यात्रामा रहेका ५ सय ६६ जनालाई उद्धार, पुर्नस्थापना र परामर्श दिइएको हो ।

बालबालिकाहरुलाई बेचबिखन हुनबाट रोक्न, बेचबिखनको मारमा परेकाको घरफिर्ता, समुदायमा पुनर्मिलन, पुर्नस्थापना आदीका चरणमा सहयोग गर्दै आएको प्रोटेक्ट परियोजनामार्फत सीमानाका जमुनाहमा रहेको साथीको बुथबाट पछिल्लो ४ वर्षमा ३०३ महिला, १४३ किशोरी, ९९ पुरुष र २१ जना किशोरलाई उद्धारसँगै पुर्नस्थापना गरिएको लक्ष्मिले जानकारी दिइन् ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै जमुनाह नाकामै रहेको साथीको बुथबाट ४ हजार ८ सय २४ जना पुरुष, एक हजार ३ सय २२ जना महिला, ४ सय ५७ किशोर र ९७ जना किशोरीलाई सुरक्षित वसाईसराई सम्बन्धि परामर्श प्रदान गरिएको परियोजना कोर्डिनेटर लक्ष्मिले बताईन् ।

यस्तै जिल्ला प्रशासन कार्यालय बाँकेमा रहेको काउन्सिलिङ्ग डेस्कमार्फत सञ्चालित ‘सुरक्षा पासपोर्ट’बाट एक हजार ६ सय ३८ जना पुरुष, ४ सय ४० महिला, एक सय ३८ जना किशोर र २० जना किशोरीलाई वैदेशिक रोजगारीको लागि अपनाउनु पर्ने तयारी, प्रक्रिया र जान्नुपर्ने सूचना, वैदेशिक रोजगारीमा जानु भन्दा अगाडी गर्नुपर्ने पूर्व–तयारीहरुका बारेमा परामर्श दिइएकोछ ।

परियोजना अन्र्तगत बालबालिका, उनीहरुको परिवार, समुदाय, स्थानीय र केन्द्र सरकार लगायत सबै सरोकारवाला निकायहरुसँग समन्वय एवम सहकार्य गरि बालबालिका बेचबिखनविरुद्ध शिक्षा र सचेतना, आर्थिक सशक्तिकरण र बेचबिखनविरुद्ध काम गर्ने संरचनागत संयन्त्रको सुदृढीकरणमा सहयोग गरेको परियोजना कोर्डिनेटर लक्ष्मिले बताईन् ।

उनले नगरका अटोरिक्सा, बस, ट्रक चालकलाई बेचबिखनका विषयमा अनुशिक्षण र सीमामा कार्यरत संस्थाबीच समन्वय गरि बेचबिखन विरुद्ध कार्य गरिरहेको जानकारी दिइन् ।

प्लान इन्टरनेशनल नेपालद्वारा सञ्चालित बहुवर्षीय प्रोटेक्ट परियोजना हाल बाँके, मकवानपुर सुनसरी गरि ३ जिल्लामा सञ्चालित छ । प्रोटेक्ट परियोजनामार्फत बालबालिकाहरुलाई बेचविखन हुनबाट रोक्न, बेचबिखनको मारमा परेकाको घरफिर्ता, समुदायमा पुनर्मिलन, पुर्नस्थापना लगायतमा सहयोग गर्दै आएको साथीकी परियोजना कोर्डिनेटर लक्ष्मिले बताईन् ।