बाँकेको बालसुधार गृहमा कैदीवन्दीहरुबिच झडप, १ जनाको मृत्यु १० घाइते


सेतोखरी सेतोखरी   शुक्रबार, असोज ५, २०८०
बाँकेको बालसुधार गृहमा कैदीवन्दीहरुबिच झडप, १ जनाको मृत्यु १० घाइते

नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहेको झडपमा घाइते कैदीवन्दी ।


नेपालगन्ज ५ असोज : बाँके प्रशासन र प्रहरीको फितलो सुरक्षा व्यवस्थाले एक बाल कैदीवन्दीले अनाहकमा ज्यान गुमाउनु परेको छ । बाँकेको हिरमनियामा रहेको बालसुधार गृहमा झडप हुँदा एक जना बाल कैदीवन्दीको मृत्यु हुन पुगेको छ भने १० जना घाइते भएका छन् । 

गए राती (विहिबार राती) ११ बजे तिर कैदीवन्दीहरु बिच आपसमा झडप भएको थियो । बाँकेको हिरमिनियामा दुई वटा भवन (ब्लक) छन् । एउटा भवनमा रहेका कैदीवन्दी र अर्को भवनमा रहेका बाल कैदीवन्दीहरु बिच झडप भएको बाँके प्रहरीले जनाएको छ ।

दुवै भवनमा बसेका कैदीवन्दीहरु बिचको झडपमा लाठी, ढुंगा, मुक्का प्रहार भएको थियो । राती भएको झडपमा घाइते भएका ११ जनालाई उपचारका लागि तत्कालै नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

घाइते ११ जना मध्ये रुपन्देही निवासी १८ बर्षिय सुलभ केसी को उपचारका क्रममा मृत्यु भएको नेपालगन्ज मेडिकल कलेजले सेतोखरीलाई जानकारी दिएको छ । उनी जर्वजस्तकरणी मुद्दामा सजाय भोगिरहेका थिए । हाल १० जनाको मेडिकल कलेजमै उपचार भइरहेको छ । 

Kids Festival 2022
kanti aarogya hospital

कम उमेरका कारण नेपालगन्ज कारागारमा राख्न नमिल्ने भएपछि हिरमिनियामा रहेको बालसुधार गृहमा २५४ जना १८ बर्ष मुनीका कैदीवन्दीलाई राखिएको छ । त्यहाँ सुरक्षाका लागि असइको नेतृत्वमा सादा पोशाकका विनाहतियारका ८ जना प्रहरी राख्ने गरिएको छ ।  

यो बालसुधार गृहमा पटक पटक झडप हुँदै आएको छ । केही दिन अघि विराटनगरमा यस्तै प्रकारको घटना भइसकेको अवस्थामा बाँके प्राहरी प्रशासनले हाइअलर्ट तथा हुन सक्ने दुर्घटनाको पहिलेनै सजकता अपनाएको भए सायद यस्तो अवस्था नआउने मानवअधिकारकर्मीहरुको भनाई छ ।