एक लाख धरौटी तिर्न नसक्दा नक्कली औषधी बिक्रेता विकास कारागार चलान


सेतोखरी सेतोखरी   सोमबार, चैत १९, २०८०
एक लाख धरौटी तिर्न नसक्दा नक्कली औषधी बिक्रेता विकास कारागार चलान

नेपालगन्ज १९ चैत्र : बाँकेका एक नक्कली औषधी बिक्रेतालाई अदालतले कारागार चलान गरेको छ ।

डुडुवा गाउँपालिका ६ चौधरीपूर्वाका नक्कली औषधी बिक्रेता विकास लखेरलाई माग गरेको एक लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा जिल्ला अदालत बाँकेले आईतबार कारागार चलान गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा गत फागुन २४ गते सरोकारवाला निकायको सहभागितामा बजार अनुगमनका क्रममा लखेरले डुडुवा गाउँपालिका वडा नम्बर–६ स्थित चौधरीपूर्वामा नक्कली औषधी पसल सञ्चालन गरेको पाइएको थियो । अनुगमन टोलीले तत्काल उक्त पसललाई बन्द गरेर बिक्रेता लखेरलाई पक्राउ गरेको थियो ।

नक्कली औषधी बिक्रेता लखेरलाई औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जमार्फत कारबाही अगाडि बढाइएकोमा औषधी ऐन २०३५ अनुसार ५ वर्ष कैद र ५० हजार जरिवाना दाबी गरी अदालतमा अभियोग दर्ता गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

आईतबार जिल्ला अदालतबाट लखेरलाई एक लाख रुपैयाँ धरौटी माग भएकोमा उनले धरौटी रकम बुझाउन नसक्दा कारागार चलान भएका हुन् ।

लखेरले प्रचलित कानून अनुसार कहिँकतै दर्ता समेत नगरिएको औषधी पसल सञ्चालन गर्दै आएका थिए । लखेरसँग औषधी बिक्री गर्ने योग्यताको प्रमाणपत्र समेत नभएको पाइएको थियो । दर्ता नभएको पसल र बिक्रेता दुवै नक्कली भएको पुष्टि भएपश्चात औषधी व्यवस्था विभागले कारबाही प्रकृया अगाडि बढाएको थियो ।