निर्दयी आमाको क्रुरता, आफ्नै सलले पासो लगाएर डेढ वर्षकी छोरी मार्न खोज्दा पक्राउ


सेतोखरी सेतोखरी   बुधबार, जेठ २, २०८१
निर्दयी आमाको क्रुरता, आफ्नै सलले पासो लगाएर डेढ वर्षकी छोरी मार्न खोज्दा पक्राउ

नेपालगन्ज २ जेठ : निर्दयी आमाको क्रुरताले यतिबेला रुकुम पश्चिम तरङ्गित बनेकोछ । आफैंले जन्म दिएको सन्तानलाई आफ्नै सलले पासो लगाएर मार्न खोजेको आरोपमा रुकुम पश्चिममा एक महिलालाई प्रहरीले पक्राउ गरेको हो । 

आफ्नी डेढ वर्षकी छोरीलाई पासो लगाउने मुसिकोट नगरपालिका वडा नम्बर १४ लोरिबाङकी अन्दाजी २१ वर्षीया नन्दकली विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार नन्दकलीले आफ्नी डेढ वर्षकी छोरी टीका ओलीलाई आफू सुत्ने कोठामा सलले झुण्ड्याएर भिडियो बनाएकी थिइन् । 

घटना जेठ १ गते बिहान साढे आठ बजेतिरको हो । नन्दकलीले नाबालक छोरीलाई पासो लगाइदिएर बनाएको भिडियो वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका उनका श्रीमानलाई पठाइन् । यस्तो भिडियो देखेपछि श्रीमानले विदेशबाट तुरुन्तै घरका अन्य सदस्य र छरछिमेकलाई खबर गरे । छिमेकीहरू तत्काल विष्टको घरमा पुगे र पासो लगाएकै अवस्थामा भेट्टाए । तुरुन्तै बालिकाको उद्धार गरे । अहिले जिल्ला अस्पताल सल्लेमा बालिकाको उपचार भइरहेको छ । 

त्यस लगतै प्रहरीले नन्दकलीलाई नियन्त्रणमा लिएको छ । आवश्यक प्रक्रिया पूरा गरेर नन्दकलीविरुद्ध आवश्यक कारबाही सुरु गर्ने प्रहरीको भनाइ छ । प्रहरीले अनुसन्धान सुरु गरेर घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।