नेपालगन्ज २५ असार : बाँकेको बैजनाथ गाउँपालिका–७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँडिन् ।
श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्कजस्तै थिए । तर, जति गर्दा पनि सम्पर्क नभएपछि रोजगारीका लागि भारतमा रहेका ठकुरी चार दिनमै नेपाल फर्केर सोधिखोजीमा लागे । यतिञ्जेलसम्म उनकी श्रीमती भुटानमा बेचिइसकेकी थिइन् । यसबारे जानकारी पाएपछि उनी छाँगाबाट खसेजस्तै भए ।
‘गत वैशाख ५ गते माइत जान्छु भनेर चार वर्षीय छोरासहित श्रीमती घरबाट निस्किएकी थिइन् । माइत पुगेर फोन गरिनन्, मैले गर्दा पनि सम्पर्क हुनसकेन । त्यतिबेला म रोजगारीका लागि भारत गएको थिएँ । श्रीमती सम्पर्कमा नआएपछि चार दिनमै घर फर्किएर बुझ्दा त श्रीमती र छोरालाई दलालले भुटान लगेर बेचिसकेका रहेछन’, ठकुरीले भने ।
ठकुरीले दिएको जानकारीअनुसार उनकी श्रीमती जेठानी दिदीसँग घरबाट निस्के पनि नजिकैको मदनचोक बजार पुगेपछि एकाएक सम्पर्कविहीन भएकी थिइन् । बुझ्दै जाँदा नेपालगन्जकी रमिला विक नाम गरेकी एक महिलाले तीस हजार भारतीय रुपैयाँमा श्रीमती बेचबिखन गरेको थाहा पाएको उनको भनाइ छ ।
‘श्रीमती र छोराका बारेमा जानकारी प्राप्त गर्न हामीले फेसबुकमार्फत हराएको सूचना सार्वजनिक गरेका थियौँ । त्यही सूचनाको आधारमा भुटानमा गाडी चलाउने नेपाली सावारी चालक सुरज विकमार्फत खबर पाएपछि भुटानमा बेचिएको थाहा भयो’, गणेशले सुनाए,‘सामाजिक सञ्जालमा मेरो अन्तर्वार्ता र फोन नम्बर भेटेपछि उहाँले बन्दी बनाएर राखेको घर नजिकै श्रीमती र छोरालाई देखेको भनेर खबर गर्नुभएको थियो ।’
सामाजिक सञ्जालमा राखिएको तस्बिरअनुसार सोधीखोजी गर्दा ठेगाना र नामसमेत मिलेको भनेर विकले आफूलाई जानकारी गराएको ठकुरीले बताए ।
‘उहाँलाई श्रीमतीले जतिसक्दो चाँडो उद्धारका लागि पहिल गरिदिन र छोराको स्वस्थ्य अवस्था पनि ठीक नभएको खबर गरेकी रहिछन्, त्यसयता उद्धारका लागि प्रहरी प्रशासनमा धाइरहेका छौँ तर जति प्रयास गर्दा पनि कुनै निकायबाट सहयोग पाएका छैनौँ’, उनले गुनासो गरे ।
सोही वडाका अध्यक्ष दिनेशकुमार थारुले उद्धारका लागि वडा र पालिकामा खबर गरेको पुष्टि गरे । ‘यस खबरले हामी पनि चकित भएका छौँ । उहाँकी श्रीमती हामीले चिनेकी र राम्रो छवी भएकी महिला हुन् तर कसरी भुटानमा बेचिनुभयो रु हाम्रा लागि पनि खोजी र चासोको विषय बनेको छ’, वडाध्यक्ष थारुको भनाइ छ, ‘खबर पाएदेखि खोजतलासका लागि चारैतिर पहल गरिरहेका छौँ तर, सफल भएका छैनौँ ।’
उद्धारका लागि नेपाल प्रहरी र पालिकाको वैदेशिक रोजगार शाखामार्फत समन्वय भइरहेको उनले बताए । ‘वैदेशिक रोजगार शाखा संयोजक धनबहादुर विकसँग समन्वय गरी सबै ठाउँमा सोधपुछ गर्दा भुटानमा रहेको निश्चित भएको छ । अब जतिसक्दो छिटो प्रहरी प्रशासनको सहयोगमा नेपाल झिकाउने प्रयासमा लागेका छौँ ।’
ईलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले ‘श्रीमती लापत्ता भएको र खोजी गरी पाऊँ’ भनि ऊजुरी प्राप्त भए पनि भुटानमा बेचिएको बारेमा लिखित जानकारी नआएको बताए । भूटानमा बेचिएको वा बन्दी बनाएको उजुरी आएमा प्रहरीले तदारूकताका साथ सोधिखोजी गर्ने पनि उनले जानकारी दिए । -रासस
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ