काठमाडौं ११ कार्तिक : उडान अनुमति नलिई काठमाडौं आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । थाइल्यान्डबाट काठमाडौं आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरिएको हो ।
करिब एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, थाई एयर एसियाको उडान तत्कालका निम्ति निलम्बन गरिएको छ । नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ ।
सूचना अधिकारी भुलले थाई एयर एसियाको उक्त विमानको शनिबारसम्म मात्र उडान अनुमति रहेको बताए । आइतबारको उडानलाई ‘विशेष चार्टर्ड’ उडानको अनुमति दिइएको उनले जानकारी दिए ।
“विमानलाई धेरै समय होल्डिङ गर्दा सुरक्षाको विषय पनि आउँछ,” उनले भने, “यात्रुको सुरक्षा र मानवीयताको कारणले आजको उडानलाई अनुमति दिएर विमान अवतरण गरिएको हो । अब तत्कालको लागि नेपालको सम्पूर्ण अनुमति रद्द गरिएको छ । जीएसए पनि रद्द भएको छ ।”
विशेष चार्टर्ड उडान अनुमति पाएको उक्त विमानले काठमाडौंबाट आजै यात्रु लिएर बैंकक फर्कने विमानस्थल कार्यालयले जनाएको छ । थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका निम्ति मात्र उडान अनुमति लिएको थियो ।
प्राधिकरणले आइतबार (आज)देखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ बनाएको थियो । अनुमति नलिई विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको हो ।
प्राधिकरणले सन् २०२४ अक्टोबर २७ देखि २०२५ मार्च ३१ सम्मको उडान तालिका सार्वजनिक गरेको छ । थाई एयर एसियाले गएको असोज १६ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गरेको थियो । -रासस
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ