महिला प्रहरी बलात्कारका आरोपी सई राना कारागार चलान


महिला प्रहरी बलात्कारका आरोपी सई राना कारागार चलान

नेपालगन्जः प्रहरी तालिम केन्द्रभित्रै महिला प्रशिक्षार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रहरी नायब निरीक्षक (सई) जेल चलान भएका छन् ।

गत असोज २६ गते राती प्रहरी जवानको तालिम गर्दै गरेकी एक महिला प्रशिक्षार्थीलाई सई बमबहादुर रानाले तालिम केन्द्र भित्रको ब्यारेकभित्रै बलात्कार गरेको उजुरी परेपछी उनलाई असोज २७ गते पक्राउ गरिएको थियो ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत, (हाल नेपालगन्ज) मा तालिमका क्रममा महिला प्रशिक्षार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सई रानालाई मुद्दा पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले आरोपित सई रानालाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने सम्मानित अदालतको आदेशबमोजिम नेपालगन्ज स्थित कारागार चलान गरिएको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

प्रशिक्षार्थी महिलाले दिएको जाहेरीका अनुसार पक्राउ परेका रानामाथि जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान गरेको थियो । एक महिना लामो अनुसन्धानपछि रानाले बलात्कार गरेको ठहर गरेको हो ।

यसैसाता जिल्ला प्रहरी कार्यालय बाँकेले सम्पन्न गरेको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय बाँकेमा बुझाएपछि उनीमाथि जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालत बाँकेमा रानाविरुद्ध मुद्दामाथि गत सोमबार भएको थुनछेक बहसपछि सई खड्कालाई मुद्दा पुर्पक्षका लागि जेल चलान गरिएको बुझिएकोछ ।

प्रहरी जवानको तालिम गर्दै गरेकी ती महिला प्रशिक्षार्थीलाई तालिमकेन्द्र भित्रको ब्यारेकमै बलात्कार गरेको उजुरी परेपछि कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक मसाउद आलम खाँ लगायतका प्रहरी अधिकारीले ती महिला प्रशिक्षार्थीका आमाबुबालाई समेत बोलाएर मिलापत्र गर्न दवाब दिदै आएका थिए ।

तालिम केन्द्रभित्रको उक्त बलात्कार काण्ड गुपचुप राख्ने र मिलापत्र गराउने ती प्रहरी अधिकारीले चलखेल गरेको तथ्य बाहिर निस्किएपछि कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी पुर्णचन्द्र जोशीले उक्त घटनाको सत्यतथ्य छानबीन र निष्पक्ष अनुसन्धान गर्न निर्देशन दिएका थिए ।

डिआईजी जोशीले तालिम केन्द्रको कार्यक्षेत्र पर्ने बाँके प्रहरी कार्यालय र यसका प्रमुख एसपी वीरबहादुर ओलीलाई घटनाको निष्पक्ष अनुसन्धान गर्न निर्देशन दिएका थिए ।