सतेन्द्र विसी मृत्युप्रकरण
नेपालगन्ज : नेपालगन्ज–खजुरा सडकखण्डमा मृत अवस्थामा भेटिएका सतेन्द्रको हत्या गरिएको उनको श्रीमती जानकी विसीले दावि गरेकी छन् ।
घटनाको करिब एक महिनापछि नेपालगन्जमा आईतबार सतेन्द्र विसीकी श्रीमती जानकीले पत्रकारसंग कुरा गर्दै यस्तो दावि गरेकी हुन् ।
जानकी गाउँपालिका वडा नम्बर–३, को सडक छेउमा विसीको शव कार्तिक २० गते विहान भेटिएको थियो । बाँके प्रहरीले सवारी साधनको ठक्करबाट विसीको मृत्यु भएको बताएपनि घटना रहस्यमय भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न उनकी श्रीमती जानकीले माग गरेकी छन् ।
सुर्खेतका सतेन्द्र विसी पछिल्लो समय नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२, बेलासपुर बस्दै आएका थिए । जग्गाको कारोबार गर्ने विसी परिवारसंग कुरा भएको भोलिपल्ट मृत भटिएको घटनाप्रति शंका गर्दै प्रहरीले प्रभावकारी अनुसन्धान नगरेकोमा विसीकी श्रीमति जानकीले दुख ब्यक्त गरिन् ।
पत्रकारसंग कुरागर्दै विसी पत्नी जानकीले भनिन्–प्रहरीले अनुसन्धानमा चासो दिएकोछैन, श्रीमानको हत्या भएको एकमहिना वितिसक्दा पनि दोषी पत्ता लगाउन प्रहरीले चासो दिएकोछैन ।’
उनले भनिन्–‘मृत्यु हुनुभन्दा अघिल्लो दिनसम्म परिवारकै सम्पर्कमा रहेको व्यक्ति १९ गते सुर्खेत जान्छु भनेर हिडेको मान्छे भोलिपल्ट मृत अवस्थामा भेटिनु रहस्यमय हो ।’
उनले भनिन्–‘प्रहरीले गाडीको ठक्करबाट मृत्यु भएको बताएको छ । तर, वहाँको शरीरका अन्य भागमा पनि चोट लाग्नुपर्ने थियो छैन । प्रहरीले पोष्टमार्टम रिपोर्टमा टाउकोमा चोट लागेको पाइएकोछ ।’
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले घटनालाई आफूहरुले गम्भीरताका साथ लिएको बताउँदै अनुसन्धान भइरहेको जानकारी दिए । परिवारजनले भने प्रहरीको अनुसन्धान प्रभावकारी नभएको गुनासो गरिरहेकाछन् ।