दाङ: दाङ जिल्लामा एक वर्षभित्र ४२ बालिका बलात्कृत भएकाछन् । ईन्सेक दाङले सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० मा ४२ बालिका बलात्कृत भएको तथ्य सार्वजनिक गरेको हो ।
ईन्सेकको वर्षपुस्तकमा सार्वजनिक यो तथ्यले दाङमा बालिका बलात्कारको अवस्था भयावह भएको प्रष्ट छ । सोही अवधिमा जिल्लाभर २ सय २४ वटा मानव अधिकार हनन्का घटना भएकाछन् ।
यस्तै राजनीतिक आस्थाका आधारमा व्यक्ति गिरफ्तारदेखी नागरिक बेपत्ता पार्नेसम्मको मानव अधिकार हनन्का घटना भएको इन्सेकले जनाएकोछ ।
यो अवधिमा गैरराज्यबाट १ सय ७९ घटना, राज्यबाट ३५ र १० वटा घटना अज्ञात पक्षबाट घटना भएको छ । जसमा १ सय ७२ महिलासहित २ सय ५० जना पीडित भएका छन ।
अघिल्ला वर्षहरुमा जस्तै यस एक वर्षमा पनि बलात्कार, बलात्कार प्रयास, बोक्सी आरोप, जातीय बिभेद, घर निकाला, मानव बेचविखन र अपहरणका घटनाहरु भएका छन् । यस्तै दाङ जिल्लामा बाल बिबाह, बन्द–हडताल, बहुविवाह, सार्वजनिक सम्पत्तीमाथी आगजनी, बम विष्फोट, भ्रुण हत्या, आत्महत्या दुरुत्साहन, बेवारिसे शव फेला जस्ता घटनाहरु भएको दाङ इन्सेकले जनाएको छ ।
इन्सेकले यी घटनाहरुको विश्लेषण गर्दै यस वर्ष पनि मानव अधिकारको अवस्थामा सुधार आउन नसकेको निष्कर्ष पनि निकालेको छ ।