नेपालगन्ज : सुन्दा नी अचम्म लाग्न सक्छ । घुस खाएको भन्दै अख्तियारले अदालतमा दोषीलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गरेको सुनिएको, देखिएको हो । तर, बाँकेको ईलाका प्रहरी कार्यालय कोहलपुरमा ‘घुस’ नदिएको निहुँमा एक निर्माण व्यवसायीमाथि उजुरी दर्ता भएको छ ।
राप्तीसोनारी गाउँपालिकामका उपाध्यक्ष समेत रहेकी अनुगमन समिति संयोजक धनीकुमारी खत्रीले आफूले मागेअनुसारको घुस रकम नपाएपछि निर्माण व्यवसायीले धम्काएको झुटो कारण देखाई कानूनी कारबाहीका लागि कोहलपुर प्रहरीमा उजुरी दर्ता गरेको खुलेको छ ।
राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ५ बिनौनास्थित वडा कार्यालयबाट मधुवा जाने करिब पाँच सय मिटर सडक कालोपत्रे योजनामा उपाध्यक्ष खत्रीले निर्माण व्यवसायी मानबहादुर खड्कासँग ‘घुस’ रकम बार्गेनिङ गरेकी थिइन् ।
तिहारअघि नै उक्त सडकको कालोपत्रे निर्माण सकिएको थियो । कालोपत्रे सकिएप्छि निर्माण व्यवसायी खड्काले उपाध्यक्ष खत्रीलाई उक्त योजनाको अनुगमन गरिदिन बारम्बार आग्रह गरेका थिए ।
पटक-पटक ठेकेदारले उक्त सडक अनुगमनका लागि आग्रह गर्दा पनि उपाध्यक्ष खत्रीले बार्गेनिङ गरेको रकम नपाएको भन्दै सडक अनुगमन समेत नगरिदिएको ठेकदार खड्का बताउँछन् । उनले भने ‘काम सकिएपछि आफूले पटक÷पटक अनुगमनका लागि आग्रह गरेको तर, उपाध्यक्ष खत्रीले अनुगमन गरेपछि एकदिन गाउँपालिकामा गएर अनुगमनका लागि दबाब मात्र दिएको खड्का बताउँछन् ।
भुक्तानी रोकियो, उक्त सडकको अनुगमन गरिदिनुहोस् भन्दा उपाध्यक्ष खत्रीले पहिला रकम दिनुहोस् अनि मात्र अनुगमन हुन्छ, भन्दै अनुगमनमा आलटाल गरेका उनी बताउँछन् । उनकाअनुसार उपाध्यक्ष खत्रीले ‘अहिले आफूलाई सरकारले तलब, भक्ता पनि नदिएको र घरखर्च चलाउन धौ-धौ भएको भन्दै घुस रकम बार्गे्निङ गरेकी थिइन् ।
आफूले उक्त रकम दिन अस्वीकार गरेपछि घुस नदिएको रिसमा उपाध्यक्ष खत्रीले कोहलपुर प्रहरीमा आफूलाई धम्की दिएको झुटो आरोप लगाउँदै उजुरी दिएको खड्का बताउँछन् ।
उक्त गाउँपालिकाको अनुगमन समिति संयोजक समेत रहेकी उपाध्यक्ष खत्रीले तिहारअघि सकिएको उक्त सडक कालोपत्रे योजनाको अनुगमन नगर्दा निर्माण व्यवसायीले अहिले पनि करिब १३ लाख रूपैयाँ भूक्तानी पाउन सकेका छैनन् । ठेकदार खड्काकाअनुसार उपाध्यक्ष खत्रीले आफूलाई घुस बापत केही रकम नदिएसम्म उक्त योजनाको अनुगमन नगर्ने बताएको ठेकेदार खड्का बताउँछन् ।
यता उपाध्यक्ष धनीकुमारी खत्रीले आफूले निर्माण व्यवसायीसँग घुस रकम नमागेको जिकिर गरेकी छन् । उनले उक्त सडक कालोपत्रे योजनाका ठेकेदार खड्काले गाउँपालिकामै आएर अनुगमन गर्न दबाब दिएको तर, आफूले केही दिनमा अनुगनम गर्ने बताउँदा आफूलाई विभिन्न खालका धम्की दिएको आरोप लगाएकी छन् ।
उपाध्यक्ष खत्रीले यस्तो बताईरहँदा निर्माण व्यवसायी खड्काले भने आफूले उपाध्यक्षलाई त्यस्तो कुनैपनि धम्की र दबाब नदिई काम सकिएकोले अनुगमन गर्न आग्रह मात्रै गरेको बताएका छन् । उक्त योजना ३० लाखमा खड्काले ठेक्का सम्झौता गरेका थिए ।