पत्रकारमाथि कुटपिट प्रकरण: मिजार र कुँवर पक्राउ

कार्यकर्ता बचाउगर्ने भुषालको योजना असफल


पत्रकारमाथि कुटपिट प्रकरण: मिजार र कुँवर पक्राउ

नेपालगन्ज: नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यसमिति सदस्य संगीन शर्मामाथि कुटपिटमा संलग्न दुईजना नेकपा निकट कार्यकर्तालाई कोहलपुर प्रहरीले पक्राउ गरेकोछ ।

नेकपा प्रदेश कमिटि सदस्य पुजन विश्वकर्माको ठाडो निर्देशनमा उनकै कार्यकर्ता भनिएका रमेश मिजार र दिपेन्द्र कुँवरले पत्रकार शर्मालाई एक साता अघि कोहलपुरमा सांघातिक आक्रमण गरेका थिए ।

पत्रकारमाथि आक्रमण भएको एक साता पछि कोहलपुर प्रहरीको सक्रियतामा घटनामा संलग्न दुईजनालाई पक्राउ गरिए पनि पत्रकार शर्मा माथि कुटपिट गर्न कार्यकर्तालाई निर्देशन दिने प्रदेश सदस्य विश्वकर्मा भने अझै पक्राउ परेका छैनन् ।

पीडित पत्रकार शर्मा लगायत कोहलपुरका समग्र पत्रकारले पत्रकारमाथि नै कुटपिट गर्न आदेश दिने नेता विश्वकर्मालाई पनि कानूनी दायरामा ल्याउन प्रहरी प्रशासन समक्ष निवेदन दिएका छन् । तर, नेकपा जिल्ला कमिटि सदस्य खिमलाल भुषालले पत्रकारमाथि कुटपिट गर्न आदेश दिने विश्वकर्माको संरक्षण गरिरहेका छन् । भुषालले यसअघि कुटपिटमा संलग्न मिजार र कुँवरलाई बचाएरै छोड्ने भन्दै कोहलपुरको सार्वजनिक स्थलमै पत्रकारहरुलाई नै धम्कि दिएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

भुषालले पत्रकारमाथि कुटपिट गर्ने व्यक्तिलाई संरक्षण गर्छु भन्दै हिडेको कुरालाई लिएर केही सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि उनले बाँकेका पत्रकारलाई समेत टेलिफोन गरेर धम्की दिनुका साथै दुव्र्यवहार गरेका थिए । अन्ततः कोहलपुर प्रहरीको सक्रियताका कारण पत्रकार कुटपिटमाथि संलग्न नेकपा कार्यकार्ताको बचाउ गर्न खोज्ने भुषालको उक्त घमण्ड तोडिएको छ । उनले संरक्षण गर्न खोजेको दुवैजना आईतबार रातीदेखि प्रहरी नियन्त्रणमा रहेकाछन् ।

यद्यपी नेपाल पत्रकार महासंघ बाँके शाखाले उक्त घटनाको छानविनका लागि सचिव तिलक गाँउलेको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । उक्त समितिलाई दुईदिनको समय दिएको भएपनि सोमबार सम्म उक्त समितिले छानविनको प्रतिवेदन समेत सार्वजनिक गर्न नसकेको पीडित पत्रकार शर्मा बताउँछन् ।

उनका अनुसार महासंघका अध्यक्ष ठाकुरसिंह थारुले प्रतिवेदन तयार भइसकेको तर, सो प्रतिवेदनमा उल्लेख गरिएका शब्दाशैलीमा केही त्रुटी भेटिएकाले प्रतिवेदन सार्वजनिक गर्न समय लागेको बताएका छन् । तर, उक्त प्रतिवेदन कहिले सार्वजनिक हुन्छ भन्ने बारे आईतबार साँझसम्म अध्यक्ष ठाकुर नेतृत्वको महासंघले नबताएको बुझिएको छ ।

बाँकेको कोहलपुरबाट सञ्चालन हुँदै आएको काँचुली खबर डट कमका कार्यकारी सम्पादक समेत रहेका शर्मालाई कुटपिट गरि मिजार र कुँवर आईतबारसम्म फरार थिए ।

पत्रकार शर्माले मिजार, कुँवर र आफूमाथि कुटपिट गर्न निर्देशन दिने बिश्वकर्मा तीनैजना विरुद्ध प्रहरीमा उजुरी दर्ताका लागि निवेदन दिएका थिए । तर, कोहलपुर प्रहरीले कुँवर र मिजारको नाममा उजुरी दर्ता गरेपनि नेता विश्वकर्माका विरुद्ध भने उजुरी दर्ता नगरेको पत्रकार शर्मा बताउँछन् ।