डिएसपी सिंहका कर्तुत: ‘घुस’देखि नक्कली ‘नागरिकता’


डिएसपी सिंहका कर्तुत: ‘घुस’देखि नक्कली ‘नागरिकता’

नेपालगन्ज: तत्कालिन कोहलपुर प्रहरी प्रमुख डिएसपी रमेशबहादुर सिंहका हर्कत र कर्तुत क्रमबद्ध सार्वजनिक भइरहेका छन् । डिएसपी सिंहलाई ललितपुरमा प्रहरी निरीक्षक हुँदा एक लाख ३० हजार घुससहित अख्तियारले रंगेहात पक्राउ गरेको थियो ।

विभिन्न राजनीतिक दलको झुण्डका आडमा अख्तियारको काण्ड मिलाएर डिएसपीमा बढुवा भई उनी तत्कालिन अवस्थामा बाँकेको कोहलपुर ईलाका प्रहरी कार्यालयमा आएका थिए ।

कोहलपुर आइसकेपछि उनले यहाँको शन्तिसुरक्षा अमनचयनका नाममा ठूलै रकम असुली गरेको खुलेको थियो । गोरू तस्करदेखि दलाल र यहाँका व्यवसायी तथा ठेकेदारहरूसँगको मिलमतोमा डिएपी सिंहले करोडौं रूपैयाँ असुली गरेका थिए ।

बाँकेको शम्सेरगन्जका एक युवकलाई बिना कारण समातेर गोली समेत ठोकेका डिएसपी सिंहका बिरूद्ध अहिलेपनि अदालतमा मुद्दा चलिरहेको छ । उक्त मुद्दा विचाराधिन अवस्थामै छ ।

Kanti Aarogya Hospital Nepalgunj

समाचार लेखेकै कारण नेपालगन्जका एक पत्रकारलाई कोहलपुर चौराहमा लगेर गोली ठोक्ने समेतको धम्की दिएका डिएसपी सिंह एकदमै अराजक र घुसखोरी भएको उनीसँगै काम गरेका प्रहरीहरू बताउँछन् । उनले कोहलपुरमा रकम असुलीका लागि सादा पोशाकमा दर्जनजति आफू मातहतका प्रहरी खटाएका थिए । यतिमात्रै होइन उनले कोहलपुर ट्राफिकबाट समेत केही हिस्सा असुल्दै आएको खुलेको छ ।

आफूलाई प्रहरी बृत्तको डन सम्झदै चोक–चोक र गल्लीमा दादागिरी गर्दै हिडेका तिनै डिएसपी रमेशबहादुर सिंह अहिले फेरी अख्तियारको फन्दामा परेका छन् । अहिले महानगरीय प्रहरी वृत बौद्धमा कार्यरत डीएसपी रमेशबहादुर सिंहमाथि अख्तियारले छानबिन प्रक्रिया अघि बढाउँदैछ ।

उनीमाथि नागरिकतामा कीर्ते गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन थालेको हो । उनलाई बयानका लागि उपस्थित गराउन महानगरीय प्रहरी कार्यलय रानीपोखरीमा पत्राचार भइसकेको अख्तियार स्रोत बताउँछ ।

अहिलेका प्रहरी प्रमुख सर्वेन्द्र खनालको छत्रछहारीमा रहेका डिएसपी सिंहले घुस खानेदेखि नक्कली नागरिकताको आरोप खेपिसक्दा पनि प्रहरी प्रमुख खनालले उनीमाथि कारवाही अघि बढाएको छैनन् ।

डिएसपी सिंहलाई नागरिकतामा उमेर सच्चाएको आरोपमा अहिले छानबिन थालिएको हो । उनी कोहलपुरमा रहँदापनि यहाँका व्यवसायी, ठेकेदार, दलाल, तस्करसँगको मिलेमतोमा करोडौ रकम कुम्ल्याउने काममा सक्रिय थिए । उनले गोरू तस्करदेखि यहाँका व्यवसायी समेतबाट ठूलो रकम घुस लिएको खुलेको छ । उनले नेपालगन्जमा रहेको राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा समेत दादागिरीशैलीमा बबाल मच्चाएका थिए ।

उनलाई आयोगले यसअघि नै कारवाहीका लागि सिफारिस गरेको थियो । तर, यस्ता उद्दण्ड व्यक्तिलाई कारवाही नगरी प्रहरी प्रधान कार्यालयले सिंहको कोहलपुरबाट काठमाडौं सरुवा गरेको थियो । बाँकेमा सबैभन्दाबढी अधिकार हनन् गर्ने प्रहरी अधिकारीमा डिएसपी सिंह पहिलो स्थानमा देखिएका छन् ।