सिडिओको एसपीलाई निर्देशन: दोषीमाथि कारवाही होस्
नेपालगन्ज : केही समय मत्थर भएको गोरू तस्करी बाँकेमा फेरी मौलाउन थालेको छ । बाँके प्रहरीकै सेटिङ्मा तस्करले साता दिन यता दर्जनौं गोरू विभिन्न नाकाबाट तस्करी गर्दै आएका छन् ।
बाँकेको राँझा, गनापुर, कोहलपुर, नेपालगन्जको फुल्टेक्रा लगायतका नाकाबाट रातीको समयमा अबैद्यानिक रूपले गोरू तस्करी हूँदै आएको छ । आईतबार राती ११ बजेतिर मात्रै गनापुर क्षेत्रबाट एक ट्रक गोरू तस्करी भएको छ । बाँके प्रहरीको सेटिङ्मा तस्करले ती गोरू कोहलपुर नाका हुँदै बुटवलतिर ओसारेको युवक संगठन नेपालका युवाहरू बताउँछन् ।

तस्करले गोरू ओसारिरहेको खबर पाएपछि गनापुर क्षेत्रमा आईतबार राती पुगेका राप्रपा निकट युवक संगठन बाँकेका अध्यक्ष हुकुम केसी लगायतमाथि आक्रमण गरेका थिए । तस्करको आक्रमणबाट केसीको शरीरका विभिन्न भागमा चोटपटक लागेको थियो ।
तर, तत्कालै बाँके प्रहरीलाई घटनाबारे खबर गर्दा बाँके प्रहरीले कुनै चासो नदेखाएको संगठनका युवाहरू बताउँछन् । प्रहरी र तस्करबीचको सेटिङकै कारण भएको उक्त तस्करीमा घुुमुवा प्रहरीको प्रत्यक्ष सक्रियता रहेको संगठनका केन्द्रीय वरीष्ठ उपाध्यक्ष ऋषिराज देवकोटा बताउँछन् ।
गोरू तस्करी बढेपनि यसको रोकथाम र नियन्त्रणमा बाँके प्रहरी उदासिन रहेको उनी बताउँछन् । उनकाअनुसार यहाँबाट हुने गोरू तस्करीमा प्रहरीको गतिलै सेटिङ भएको छ । उनले भने ‘अहिले बाँके प्रहरीको गतिलो आम्दानी वा असुलीको स्रोत भनेकै गोरू तस्करसँगको मिलेमतो देखिएको छ ।’
यसअघिका एसपी अरूण पौडेल र कोहलपुरका तत्कालिन डिएसपी रमेशबहादुर सिंहले समेत गोरू तस्करसँगको सेटिङ्मा लाखौं रूपैयाँ असुली गरेका थिए । उक्त असुलीको प्रावधान अहिलेका एसपी वीरबहादुर ओलीले पनि चलाई सकेको बुझिएको वरीष्ठ उपाध्यक्ष देवकोटा बताउँछन् ।
अहिलेका बाँके प्रहरी प्रमुख एसपी ओलीपनि गोरू र अबैद्य वालुवा गिट्टी ढुवानीमा संलग्न तस्करसँगको सेटिङमा लाखौं असुली गर्ने दाउपेचमा रहेको लगायतका युवक संगठन बाँकेका अध्यक्ष हुकुम केसी बताउँछन् ।
बाँकेमा गोरू तस्करी बढेपछि यसको रोकथाम हुनुपर्ने तस्करसँग प्रहरी सेटिङ अन्त्य हुनुपर्ने गोरू तस्करलाई कारबाही हुनुपर्ने लगायतका माग राख्दै संगठनका केन्द्रीय वरीष्ठ उपाध्यक्ष देवकोटाको नेतृत्वमा सोमबार दिउँसो करिब तीन घण्टा नेपालगन्ज सुर्खेत राजमार्ग ठप्प पारिएको थियो ।

उक्त राजमार्ग बन्दले सोमबार दिउँसो तीनघण्टा बाँकेका कोहलपुर, नेपालगन्ज क्षेत्रमा सवारी साधन आवतजावत ठप्प भयो । यसले सर्वसाधारण नागरिक पैदल यात्रा गर्न बाध्य भए भने यहाँको जनजीवन केहीबेर अस्तव्यस्त नै भएको थियो ।
संगठनका पदाधिकारी तथा राप्रपाका कार्यकर्ताले बाँकेको गनापुर क्षेत्रमा उक्त राजमार्ग अवरूद्ध गरेका थिए । यहि स्थानबाट आईतबार राती एक ट्रक गोरू तस्करी भएको थियो ।
गोरू तस्करीममा प्रहरीको सेटिङ र घुमुवा प्रहरीको संरक्षण रहेको आरोप खेपिरहेका बेला बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले अहिले बाँकेमा गोरू तस्करी भएको आफूले थाहा नपाएको बताएका छन् । प्रहरीले यस्ता गतिविधीमा प्रोत्साहन नगर्ने भन्दै गोरू होस् वा अन्य कुनैपनि अबैद्य बस्तुको निकासी पैठारीमा प्रहरीको सेटिङ, मिलेमतो र संलग्नता हुन नसक्ने एसपी ओलीले दाबी गरेका छन् ।

यसैबीच गनापुरमा गरिएको चक्काजाम सकिएपछि सिडिओ कार्यालय पुगेका राप्रपा र युवक सगठनका नेता कार्यकर्ताले तस्कर पक्राउ गर्न सिडिओलाई दबाब दिएका थिए ।
यसपछि बाँकेका सिडिओ कुमारबहादुर खड्काले एसपी ओलीलाई आफ्नै कार्यालयमा बोलाई तत्काल गोरू तस्करीमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको संघका केन्द्रीय वरीष्ठ उपाध्यक्ष देवकोटोले बताए ।