गोरू तस्करी: तस्करले कुन प्रहरी ईकाईमा कति रकम बुझाउँछन् ?


गोरू तस्करी: तस्करले कुन प्रहरी ईकाईमा कति रकम बुझाउँछन् ?

नेपालगन्ज:अबैद्यानिक रूपमा तस्करी हुँदै आएका गोरूलगायतका पशुचौपाय ढुवानीका लागि बाँके प्रहरी मातहतका विभिन्न ईलाका प्रहरी चौकीमा ढुवानीकर्ताले मोटो रकम बुझाउने गरेको खुलासा भएको छ ।

तस्कर र प्रहरीको सेटिङ्मा गोरू तस्करी भएको भन्दै युवक संघ लगायतका विभिन्न संगठनले आरोप लगाईरहेको बेला बिहीबार तस्करले कहाँ-कहाँ, कति रकम बुझाँउँछन् भन्ने तथ्य खुल्न आएको हो ।

यसले पनि गोरू तस्करी यतिबेला बाँकेमा प्रहरीको गतिलो आम्दानीको स्रोत बन्दै गएको पुष्टि गरेको छ । तस्करले नक्कली कागतजातका आधारमा रातीमा गोरू तस्करी गर्दै आएका छन् । सरकारले पनि यसरी रातीमा गरिने ढुवानीलार्ई अबैद्य तथा नीति विपरित भन्दै आएको छ ।
प्रहरीको गतिलै सेटिङ्मा बाँकेका गनापुर, फुल्टेक्रा लगायतका क्षेत्रमा हरेक दिनजसो गोरू तस्करी हुँदै आएको छ । प्राप्त सूचनालाई आधार मान्दा तस्करले सहजै रूपमा गोरू लैजान बाँके प्रहरी मातहतका विभिन्न ईलाका र चौकीमा मासिक रकम बुझाउने गरेका छन् । उक्त रकम ईलाकादेखि माथिल्लो निकायसम्म पुग्ने गरेको प्रहरी अधिकारीहरू नै बताउँछन् ।

यहाँको कोहलपुर ईलाका प्रहरी कार्यालयमा मासिक एकलाख, अगैया प्रहरी चौकीमा ५० हजार, ईलाका प्रहरी चौकी धामपुरमा २५ हजार, कुसुम प्रहरी चौकीमा २५ हजारका दरले गोरू तस्करले रकम बुझाउँदै आएको तथ्य खुलेको छ । यसरी गोरू तस्करी गर्दा तस्करले स्थानीय युवालाई पनि प्रति ट्रक पाँच हजारका दरले रकम दिदै आएका छन् । नेपालगन्ज आसपासका क्षेत्रबाट ढुवानी हुने गोरू लगायतका बस्तुभाउ राप्तीसोनारीको लटनियाँ, खैराभट्टी र अगैयामा जम्मा गरेर ट्रकमा लोड गर्ने गरिएको स्रोत बताउँछ ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले यस बिषयमा आफू एकदमै गम्भीर भएको बताउँदै तस्कर मात्रै होइन रकम लिने-दिने दुवैको खोजी गरिरहेको बताएका छन् । उनले भने ‘म यस बिषयमा आन्तरिक अनुसन्धानमा लागि सकेको छु । दोषी भेटाउँने वित्तिकै कानूनी कारबाही गर्छु ।’ उनले बाँके प्रहरी मातहतका यी कुनैपनि ठाउँबाट यस बिषयमा आफू समक्ष गुनासो नआएको पनि दाबी गरेका छन् ।

सरकारले लागू गरेको पुशचौपाया ढुवानी मापदण्ड कागतमै सिमित देखिएको छ । उक्त सडक ढुवानी मापदण्ड कागजमै सिमित हुँदा बाँकेमा पशुचौपाया तस्करले मनपरी गोरू लगायतका पशुचौपाया ढुवानी गर्दै आएका छन् ।

एउटा ट्रकमा २० वटा र साना ट्रकमा १२ देखि १५ सम्म मात्रै पशुचौपाया लोड गर्न पाईने प्रावधान छ । तर, तस्करले तीस वटासम्म पशुचौपाया राख्ने गरेका छन् । यसको नियमनकारी निकायले रोकथाम गर्न चासो देखाएको छैन् ।

एउटा ढुवानी साधनमा कति पशुचौपाया ढुवानी गर्न पाउने ? मापदण्ड विपरित गरे के कति जरिवाना हुने ? कुन नियममा रहेर जरिवाना गर्ने ? यसबारे बाँके ट्राफिक मात्रै नभई प्रहरी नै अनबिज्ञ देखिएको छ । पशुको सडक ढुवानीको तरिका तथा अपनाउनु पर्ने सावधानी नियमावलीमै स्पष्ट उल्लेख छ । ढुवानी गर्दा विभिन्न सावधानी अपनाउनुपर्ने उल्लेख छ ।

सडक ढुवानीमा देश भित्र आन्तरीक ओसार पसार हुने पशुको हकमा गोठालासँगै निर्दिष्ट ढाँचाको पशु चिकित्सकद्वारा प्रदान गरिएको स्वास्थ्य प्रमाणपत्र हुनुपर्ने भए पनि सबै पशुको प्रमाणपत्रमा एकमुष्ट रुपमा स्वस्थ्य भएको उल्लेख हुन्छ । तर, बाँकेबाट जाने पशुचौपायको स्वास्थ्य परीक्षण समेत भएको हुँदैन् ।

सर्वोच्च अदालतले गोरू तथा बस्तुभाउ ओसार÷पोसारलाई अनुमति दिएको छ । यसका लागि ढुवानीकर्ता केही नीति नियम र मापदण्ड भने अबश्यक पालना गर्नुपर्छ । तर, बाँकेबाट ढुवानीकर्ताले सरकारी मापदण्ड र नीति विपरित रातीमा तस्करी गरिरहेको खुलेको छ ।

ढुवानीकर्ताले नक्कली कागतजात पेश गर्नुपर्ने, ढुवानीपुर्व हरेक बस्तुको स्वास्थ्य परिक्षण गरिनुपर्ने, ढुवानी गर्ने साधन पशुमैत्री हुनुपर्ने लगायतका प्रावधान छन् । तर, यी सबै मापदण्ड र नीति विपरित बाँकेमा रातारात गोरू तस्करी हुँदै आएको छ ।