File Photo
नेपालगन्ज: बाँकेको कोहलपुरबाट दाङको लमहीतर्फ लैजादै गरेको एक ट्रक अबैध गोरु बाँकेको ढकेरी स्थित स्थानीयहरुले नियन्त्रणमा लिएकाछन् ।
प्रहरीको मिलेमतोमा अबैधरुपमा गोरु ओसार पसार गरिरहेको बेला आईतबार बेलुका ७ बजे ढकेरीका स्थानीयले एक ट्रक गोरु नियन्त्रणमा लिएको हो ।
स्थानीयले उक्त ट्रक नियन्त्रणमा लिइसकेपछि घटना स्थल पुगेको प्रहरीले गोरु नियन्त्रणमा लिनुको साटो स्थानीयहरुलाई नियन्त्रणमा लिएको छ ।
अबैधरुपमा ढुवानी भइरहेको गोरु नियन्त्रणमा लिइ तस्करी रोक्ने काममा सक्रिय ढकेरीका तिलकजंग शाह र मनोज ओलीलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले अबैध गोरु ढुवानी भइरहदाँ नियन्त्रणमा लिएका थिए । तर, कोहलपुर प्रहरीका डिएसपी कुलदीप चन्दको निर्देशनमा ढकेरी स्थित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पछिल्लो समय गोरु तस्करी बढ्दै गएपछि यसको रोकथाम र नियन्त्रणका लागि ढकेरी स्थित स्थानीयहरु सक्रिय हुदै आएकाछन् । उनीहरुको सक्रियताले अबैद्ध गोरु तस्करी नियन्त्रणमा प्रहरीलाई नै सहयोग पुगेको भएपनि कोहलपुर प्रहरीले सकारात्मक काममा सक्रिय ब्यक्तिहरुलाई नै पक्राउ गरि दुःख दिएको स्थानीय वीरबहादुर ओलीले बताए ।
राज्यको नीति विपरीत गैरकानूनीरुपमा यसरी गोरु ओसारपसार गर्नु निन्दनीय कार्य भएको राप्रपाका बाँके जिल्ला प्रवक्ता तथा मिडिया नेपालका केन्द्रिय उपाध्यक्ष श्रीधर सुवेदीले बताए ।
उनका अनुसार प्रहरी सेटिङ्ग गोरु तस्करी भइरहेको अवस्थामा नियन्त्रणमा लिई तस्करी रोक्ने प्रयास गरिरहेका स्थानीयलाई पक्राउ गर्नु प्रहरीको कार्यशैलीप्रति असन्तुष्टि ब्यक्त गर्दै पक्राउ परेका दुईजनालाई तत्काल रिहा गर्न माग गरिएको छ ।
ढकेरीमा स्थानीयले गोरु तस्करी रोकेको भएपनि कोहलपुरका प्रहरी प्रमुख चन्दले गोरु लोड गरिएको ट्रक कब्जामा लिएर जङ्गलमा लुकाएको बताएकाछन् । डिएसपी चन्दले भने–स्थानीयले ट्रक कब्जामा लिएर जङ्गलमा लुकाएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनले थपे –‘ट्रकलाई कब्जामा लिनेलाई हतकडी नलगाएर के गर्नु ?’
कोहोलपुर प्रहरीले पक्राउ गरेका दुवैजनालाई हतकडी लगाई अनुसन्धानका लागि भन्दै ईलाका प्रहरी कार्यालय कोहलपुरमा ल्याएको छ ।