रिमोट कन्ट्रोलबाट बास्कोटाको घरमा विस्फोट


रिमोट कन्ट्रोलबाट बास्कोटाको घरमा विस्फोट

नेपालगन्ज: पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा प्रेसर कुकर बम विस्फोट भएको छ । मध्यपुर ठिमी नगरपालिका–१, मनोहरा फाँटमा रहेको बास्कोटाको निर्माणाधीन घरमा बुधबार बिहान पौने ८ बजे विस्फोट भएको हो ।

बास्कोटाको निर्माणाधीन घरमा रिमोट कन्ट्रोलबाट बम विस्फोट गराइएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले प्रारम्भिक अनुसन्धानले रिमोट कन्ट्रोलबाट बम विस्फोट गराइएको खुलेको जानकारी दिए ।

‘घरको कम्पाउण्डभित्र प्रेसर कुकर बम राखेर रिमोट कन्ट्रोलमार्फत विस्फोट गराइएको देखिएको छ,’ भक्तपुर प्रहरी प्रमुख प्रधानले भने । प्रधानका अनुसार, घटनास्थलमा एक झोला पनि भेटिएको छ । जसभित्र प्रेसर कुकरका टुक्रा र विष्फोटमा प्रयोग हुने सामग्रीहरु छन् । तर, बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन ।

विस्फोटबाट बास्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्षतिग्रस्त भएको छ । यस्तै विस्फोटबाट बास्कोटाका छिमेकीहरु कुबेर केसी र कपील घिमिरेको घरमा समेत क्षति पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

सेक्युरिटी प्रिन्टर खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बास्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिशनकाण्डमा मुछिएपछि राजीनामा दिएका थिए ।

यसअघि बास्कोटानिवासमा आक्रमण हुने अनुमान प्रहरीले पहिल्यै लगाएको थियो । त्यसैले अडियो काण्डपछि प्रहरीले बास्कोटा निवाससँगै वरिपरि सुरक्षा सतर्कता बढाएको थियो । असईको नेतृत्वमा २ प्रहरी २४ घण्टा खटाइएको थियो । तथापि, बुधबार बिहान विस्फोट भएको हो ।