विप्लवद्वारा विस्फोटको जिम्मा, यस्तो छ कारण
नेपालगन्ज: पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निर्माणाधीन घरमा बम विस्फोट गराएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला सदस्य देव गुरुङ छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले जडीबुटी क्षेत्रबाट पक्राउ गरेको हो ।
भक्तपुरको लोकन्थलीमा निर्माणाधीन बास्कोटाको घरको गेटमा बुधबार बिहान बम विस्फोट भएको थियो । पक्राउ परेका गुरुङ प्रहरीको खोजी सूचीमा थिए । यसअघि उनीमाथि दुर्गा प्रसाईंको घरमा पनि विस्फोट गराएको आरोप छ ।
यसअघि बास्कोटाको घरमा भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले लिएको थियो । विप्लव नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटालामा संलग्न भएको सहित १० कारणले घरमा बम हान्नु परेको जनाएको छ ।
पूर्वमन्त्री बास्कोटाको घरको भुइँ तलामा बम बिस्फोट भएको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले बताए । बम बिस्फोटबाट एउटा मारुती कार पूर्ण क्षतिग्रस्त भएको छ । कार पूर्वमन्त्री बाँस्कोटाको छिमेकीको रहेको प्रहरीले जनाएको छ । मन्त्री बाँस्कोटा निवाससँगै रहेका अन्य घरमा समेत सामान्य क्षति भएको छ ।
१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।
२. २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।
३. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।
४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले ।
५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौँ हिनामिना गरेकाले ।
६. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।
७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।
८. राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।
९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।
१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।