नेपालगन्ज: बाँकेमा मंगलबार दुईजनाको मृत्यु भएकोछ । बाँकेको कोहलपुरमा सडक दुर्घटना र नेपालगन्ज कारागारमा एकएक जना गरि दुईजनाको मृत्यु भएको हो ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११, न्यूरोडमा मंगलबार बिहान नेपालगन्ज मेडिकल कलेज कोहलपुरबाट बिरामी लिएर नेपालगन्ज आउदै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्स र से ५ प ४८४ नम्बरको बाईकलाई ठक्कर दिदाँ अनमी शोभाकेसी बटालाको मृत्यु भएकोछ ।
दुर्घटना लगत्तै उपचारकालागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याएकी शोभाको मृत्यु भइसकेको चिकीत्सकले बताएका थिए । मृतक बटाला बैजनाथ गाँउपालिका स्थित बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रमा अनमीको रुपमा काम गर्दै आएको बैजानाथ गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख घननाथ योगीले बताए ।
२८ वर्षीया मृतक बटाला नरहरिनाथ गाउँपालिका वडा नम्बर १, कालिकोट स्थायी ठेगाना भइ हाल कोहलपुरमा बसोबास गर्दै आएकी थिइन । मृतक बटाला मोटरसाइकलको पछाडी सवार थिइन । मोटरसाइकल चालक डण्डबिक्रम बिष्ट भने गम्भीर घाइते भएका छन् ।
एम्बुलेन्स चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपि कुलदीप चन्दले बताए ।
यसैबीच, नेपालगन्ज कारागारामा अपराधिक लाभ मुद्दामा तीन वर्षको कैद र ३० हजार जरिवाना तोकिएका ६० वर्षका अस्फाक अहमद सिद्धिकीको आज विहान मृत्यु भएको छ ।
उच्च रक्तचापको औषधी सेवन गरिरहेका सिद्धिकी विहान केही बेर घुमफिर गरेपछि कोठाभित्र आएका थिए । त्यसलगत्तै उनी बेहोस भएका थिए । सिद्धिकी बेहोस भएको सूचना पाएलगत्तै जेल प्रशासनले उपचारको व्यवस्था गरेपनि उनको मृत्यु भइसकेको थियो । जेलर देवेन्द्र श्रेष्ठले प्रक्रिया पु¥याएर सिद्धिकीको शवलाई आफन्तलाई जिम्मा लगाएको बताए ।