सशस्त्र प्रहरीद्वारा कुटपिट गरिएका बृद्ध । तस्विर: कमल न्यौपाने /सेतोखरी
बढैया(बाँके): सशस्त्र प्रहरीले स्थानीय एक बृद्धलाई कुटपिट गरेपछि उत्पन्न तनाव मथ्थर भएकोछ । कुटपिटमा संलग्नलाई कारबाही तथा पीडितको स्वास्थ्य उपचार गरिनेभएपछि तनाव मथ्थर भएको हो ।
जानकी गाउँपालिका वडा नम्बर १, बढैया निवासी ७३ वर्षीय चनैनी भनिने कोइली खाँलाई शसस्त्र प्रहरीका जवानले कुटपिट गरेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका थिए ।
घटना हिजो शनिबार राती करिब ९ बजेको भएपनि खाना खाएर सुत्न जाने बेला गस्तीमा रहेको सशस्त्र प्रहरीले विना कारण कुटपिट गरको भन्दै स्थानीयले विरोध गरेका थिए ।
घट्नाको विरोधमा बढैया गाउँ र आसपासका सयौं स्थानीयले सशस्त्र प्रहरी विरुद्ध नाराबाजी गर्दै कुटपिटमा संलग्नमाथि कारबाहीको माग गरेका थिए ।
पीडित चनैनी भनिने कोइली खाँ बढैयाका फकिर (बाबा) हुन् । घुमन्तेफिरन्ते जिवन निर्वाह गर्ने उनी झारफुक समेत गर्ने भएकाले हिन्दु तथा मुस्लिम दुवै समुदायको आस्था रहदै आएकोछ ।
उनीमाथि भएको कुटपीटपछि सिर्जित तनाव मथ्थर पार्न ठूलोमात्रामा प्रहरी परिचालन गरिनुका साथै जानकी गाँउपालिका अध्यक्ष रामनिवास यादव, वडा अध्यक्ष महोम्मद रजा राई, युवा संघ बाँकेका अध्यक्ष किशोर थापा तथा नेपाली काँग्रेस जिल्ला सदस्य सुदाम्सु कोइराला लगायत स्वयम उपस्थित भएका थिए ।