File Photo
नेपालगन्जः बाँकेको नरैनापुर गाउँपालिका स्थित क्वारेन्टिनमा रहेका एक युवकको आईतबार (आज) निधन भएकोछ । भारतको मुम्बईबाट घर फर्किएका २५ वर्षिय ती युवकलाई वैशाख ३० गते गाउँपालिकाको क्वारेन्टिनमा राखिएको थियो ।
भारतबाट आएका कारण कोरोना भाइरस संक्रमणको आशंकामा क्वारेन्टिनमा राखिएका ती युवकमा कोरोना भाइरसको कुनैपनि लक्षण नदेखिएको बुझिएको छ । शनिबार साँझसम्म कुनै लक्षण नदेखिएका ती युवकको आईतबार बिहान एक्कासी निधन भएको नरैनापुर गाउँपालिका अन्र्तगतको स्वास्थ्य शाखाका प्रमुख महिम खाँ बताउँछन् ।
उनका अनुसार ती युवकको स्वाब परीक्षणका लागि हिजै शनिबार संकलन गरि परीक्षणका लागि नेपालगन्ज स्थित भेरी अस्पताल ल्याइएकोछ । तर, आईतबार बिहान यो समाचार तयार पार्दासम्म उक्त स्वाबको परीक्षण रिपोर्ट आइसकेको छैन ।
उनको स्वाब परीक्षण रिपोर्ट नआएका कारण अहिलेनै ती युवकको निधन के कारणले भयो भन्ने टुङ्गो नलागेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खाँ बताउँछन् ।
क्वारेन्टिनमा रहेका ती युवकको एक्कासी निधन भएको खबरपछि बाँकेको नेपालगन्जबाट स्वास्थ्यकर्मी सहितको सुरक्षाकर्मी र सरोकारवालाको टोली त्यसतर्फ प्रस्थान गएको जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेश श्रेष्ठले सेतोखरीलाई बताए ।
उनले भने ‘क्वारेन्टिनमा रहेका युवकको निधन भएको खबर आयो, अहिले हामी नरैनापुरतर्फ जाँदैछौं ।’ उनले थपे–‘ती युवकको निधन बारे अस्पतालको रिपोर्ट पछि कारण पत्ता लाग्छ ।’
बाँकेमा कोरोना संक्रमित बढिरहेका बेला जिल्लामै पहिलो पटक क्वारेन्टिनमा रहेका ब्यक्तिको निधन भएपछि जिल्लामा उच्च सर्तकता अपनाइएकोछ ।