नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिका स्थित क्वारेन्टिनमा आईतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । नरैनापुरमा मृत्यु भएका उक्त युवाको नेपालगन्ज स्थित भेरी अस्पतालमा कोरोना परीक्षण गर्दा पोजेटिभ आएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके नरैनापुरका २५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । यस विषयमा थप विवरण आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
भारतको मुम्बईबाट घर फर्किएका २५ वर्षिय ती युवकलाई वैशाख ३० गते गाउँपालिकाको क्वारेन्टिनमा राखिएको थियो । भारतबाट आएका कारण कोरोना भाइरस संक्रमणको आशंकामा क्वारेन्टिनमा राखिएका ती युवकमा कोरोना भाइरसको कुनैपनि लक्षण नदेखिएको बुझिएको छ ।
शनिबार साँझसम्म कुनै लक्षण नदेखिएका ती युवकको आईतबार बिहान एक्कासी निधन भएको नरैनापुर गाउँपालिका अन्र्तगतको स्वास्थ्य शाखाका प्रमुख महिम खाँ बताउँछन् ।
योसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो ।
नरैनापुर गाउँपालिकाका स्वास्थ्य सहसंयोजक नागरेन्द्र साहका अनुसार उनी बसेको क्वारेन्टिनमा अरू ३८ जना पनि छन् । मृत्यु हुनुअघि आइतबार बिहान ४ बजेतिर उनले अचानक दुई पटक बान्ता गरेका थिए ।