नेपालगन्ज : क्वारेन्टिनमा रहेकाको पीसिआर रिपोर्ट समयमै नआउँदा क्वारेन्टिनमा रहेका एक पुरुषले आत्महत्या गरेकाछन् । क्वारेन्टिनमै रहेका ब्यक्तिले आत्महत्या गरेको यो पहिलो घटना हो ।
अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले मङ्गलबार राती आत्महत्या गरेका हुन् ।
विद्यालयको एउटा कोठामासँगै बसेका दुईजना साथीहरु निदाएपछि उनले रातीमा विद्यालय नजिकैको एक रूखमा झुण्डिएर आत्महत्या गरेको वडा अध्यक्ष कमल पौडेलले बताए ।
जेठ २४ गते उनको आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । पीसीआर परीक्षणका लागि २५ गते उनको स्वाबको नमुना लिएर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो । यसबीच उनको पीसिआर रिपोर्ट आउन सकेन । उनी भारतको पञ्जाबबाट आएर क्वारेन्टिनमा बसेका थिए । उनी भारतबाट आएको २५ दिन भएको थियो । उक्त क्वारेन्टिनमा २५ जना रहेका छन् ।
यसैबीच अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले प्रयोगशालाले पीसीआर परीक्षण रिपोर्ट दिन ज्यादै ढिलाइ गर्दा यस्ता दुःखद् घटनाहरु हुन थालेको प्रतिक्रिया दिए । ‘समयमा रिपोर्ट नआउँदा मान्छेहरुमा नैराश्यता र नकारात्मक कुराहरु आउने समस्या भयो,’ प्रजिअ पौडेलले भने । कोरोना परीक्षणका लागि सरकारले गरेका लापरबाही र उदासिनताका कारण यसखाले घटना बढ्न थालेकाछन् ।