नेपालगन्ज: र्यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्टको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर पठाइएका एक व्यक्तिको मृत्यु भएको छ ।
घटना बर्दियाको हो । क्वारेन्टिनबाट घर पठाइएका बारबर्दिया नगरपालिका–३ का ४५ वर्षीय एक व्यक्तिको बिहीबार राती मृत्यु भएको पाइएकोछ ।
बारबर्दिया नगरपालिकाका जनस्वास्थ्य निरीक्षक डिल्लीराज शर्माका अनुसार मृत्यु भएका व्यक्ति जेठ २२ गते काठमाडौंबाट आएका थिए ।
ठमाण्डौंबाट आएका ती ब्यक्तिलाई बारबर्दिया नगरपालिका वडा नम्बर–३ स्थित खुरखुरे बालविकास केन्द्रको क्वारेन्टिनमा राखिएको थियो ।
‘आरडीटी रिपोर्ट नेगेटिभ आएपछि उनी बिहीबार दिउँसो १ बजे घर गएका हुन्,’ शर्माले भने, ‘राति ८–९ बजेको समयमा श्वास लिन गाह्रो भएको, टाउको र पेट पनि दुखेको भनेर परिवारका सदस्यले जानकारी गराएका थिए । एम्बुलेन्सको व्यवस्था मिलाएर उनलाई बर्दिया जिल्ला अस्पताल लैजान सुझाव दिएका थियौं । तर, अस्पताल पुग्न नपाउँदै उनको मृत्यु भएको जानकारी आयो ।’
१४ दिनसम्म क्वारेन्टिनमा बसेपछि उनको बिहीबार आरडीटी परीक्षण गरिएको थियो । घर पठाउँदा उनमा कुनै स्वास्थ्य समस्या थिएन । यतिबेला मृतक ब्यक्तिको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी नेपालगन्जस्थित भेरी अस्पताल ल्याइएकोछ । पीसिआर रिपोर्ट आएपछि मात्रै उनको अन्त्येष्टि गरिन सेतोखरीलाई जानकारी प्राप्त भएकोछ ।