केही दिन अघि सुरक्षाकर्मीले नियन्त्रणमा लिएको नदीजन्य बस्तुको अबैद्य ओसारपसारमा संलग्न ट्याक्टर । तस्विर : सेतोखरी
नेपालगन्ज : बाँकेको घरेलु कार्यालयमा १६ वटा क्रसर र पाँचवटा वालुवा प्रशोधन उद्योग दर्ता भएका छन् । जसमा अहिलेसम्म तीनवटा मात्रै नविकरण छन् । १३ वटा उद्योग अझै नविकरणवहीन छन् । यी उद्योगले राज्यको नीति विपरित काम गरेका छन् । राज्यलाई राजश्व समेत ठगि गरेको घरेलु कार्यालयको रेकर्डले देखाउँछ ।
वालुवा प्रशोधन उद्योग अधिकाशं नविकरण छैनन् । डुडुवा गाउँपालिकाको जय नेपाल, बाबा स्टोन नरैनापुर र शिवशंकर कोहलपुर नवीकरण छन् । दीपक क्रसर उद्योग नवीकरणको प्रक्रियामा भएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अधिकृत उजिरप्रसाद न्यौपाने बताउँछन् ।
अधिकृत न्यौपानेका अनुसार बाँकेमा सञ्चालन भएका अधिकाशं क्रसर र बालुवा प्रशोधन उद्योग मापदण्डविपरीत छन् । सरकारी प्रावधानअनुसार जंगल र राष्ट्रिय निकुञ्जको क्षेत्रभन्दा एक किलोमिटर टाढाको दूरीमा क्रसर उद्योग सञ्चालन पाइदैन् ।
नदी र खोलाबाट ५ सय मिटरको दूरीमा मात्रै क्रसर र बालुवा प्रशोधन उद्योग खोल्न पाइन्छ । तर, यहाँ व्यवसायीले मनलाग्दी रूपमा उद्योग सञ्चालन गर्दै आएका छन् । मापदण्डअनुसार बालुवा प्रशोधन उद्योगले गिट्टी र ढुंगाको काम गर्न पाउँदैनन् । तर, प्रशोधन उद्योगले भने ढुंगा र गिट्टीको काम गरिरहेका छन् ।
जिल्लामा नदीजन्य पदार्थ चोरी निकासी व्यापक भइरहेको छ । बाँके प्रशासनका यस्ता थुप्रै उजुरी परेका छन् । यी उजुरीकै आधारमा यहाँका प्रमुख जिल्ला अधिकारी आफैंले केही दिनअघि राप्ती लगायतका नदी र विविध खोलाको स्थलगत अनुगमन समेत गरेका छन् ।
ठेक्का नपरेपछि राप्ती नदी, मुगुवा, खैरी र झिझरीलगायतका खोलाबाट रातारात नदीजन्य पदार्थ चोरी गरी निर्बाध रूपमा क्रसर उद्योग सञ्चालन भएका भेटिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूवाङ बताउँछन् ।
राप्ती नदीको बाँके खण्डमा मात्रै एक दर्जन क्रसर र बालुवा प्रसोधन उद्योग सञ्चालनमा छन् । पालिकाले दुईपटक नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का खोलेको थियो । त्यस बखत कसैलेपनि ठेक्का हालेको थिएन् ।
राप्तीसोनारी गाउँपालिकाले दुईपल्ट ठेक्का खोल्दा कोही पनि आएनन् पालिकाका अध्यक्ष लाहुराम थारूले भने ‘तर, क्रसर र बालुवा उद्योग मजाले चलेका छन् ।’ पालिकाले गैरकानूनी रूपमा चलेका क्रसर उद्योगलाई नियन्त्रण गर्न सकेको छैन् ।
बाँके प्रहरीले केही दिनअघि मात्रै नदी जन्य बस्तुको अबैद्य दोहन गरेको आरोपमा नेकपा राप्तीसोनारीका सचिव समेत रहेका क्रसर व्यवसायी मनोजलाई पक्राउ गरेको छ ।
नदीजन्य बस्तुको अबैद्य दोहनको आरोपमा पक्राउ गरिएका मनोजलाई छुटाउँन यतिबेला नेकपा बाँकेका नेताहरू प्रशासन धाउन थालेको स्रोत बताउँछ ।
बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले आफनो पहिलो प्राथमिकतामा अपराध नियन्त्रण र नदीजन्य बस्तु अवैद्य निकासी रोकथाम नै परेको बताएका छन् । उनले अबैद्य काम गर्ने जोकोहीलार्य पनि कानूनी दायरामा ल्याउन कुनै कसुर बाँकी नराख्ने चेतावनी समेत दिएका छन् ।