नेपालगन्ज : प्रदेश प्रहरी कार्यालय जनकपुरधामले दुई प्रहरी सहायक निरीक्षक र एक प्रहरी जवानलाई निलम्बन गरेको छ । रौतहटका ती प्रहरीले संगठनको आचरणविपरीत काम गरेको भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले निलम्बित गरेको हो ।
रौतहटको औरैयास्थित प्रहरी चौकीमा कार्यरत असई ललित साह, त्यहीँ कार्यरत प्रहरी जवान दिनेश हजारा र प्रहरी चौकी ब्रह्मपुरीमा कार्यरत असई सञ्जीवकुमार झा निलम्बनमा परेका हुन् ।
रौतहटकै पिपरा रजवाडास्थित ईलाका प्रहरी कार्यालयमा दरबन्दी रहेका असई साह र जवान हजारा हुण्डी कारोबारमा संलग्न रहेकाले निलम्बन गरिएको प्रदेश प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार ईलाका प्रहरी कार्यालय देवाही गेनाही दरबन्दी रहेका असई झालाई आचरण सुधार्न नसक्दा निलम्बन गरिएको छ । असई साह र जवान हजाराले आर्थिक प्रलोभनमा परी हुण्डी कारोबारीमा संलग्न व्यक्तिलाई सघाएको प्रमाणित भएपछि निलम्बन गरिएको डिएसपी मिश्रको दावी छ ।
असई झा भने मंगलवार राती एक महिलासँग समातिएका थिए । स्थानीयले उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी टोलीलाई बुझाएका थिए । त्यसपछि प्रदेश प्रहरीले उनलाई निलम्बन गरेको हो । डिएसपी मिश्रले पनि असई झालाई आचरण सुधार्न पटक–पटक मौका दिँदा समेत नसुध्रेकोले निलम्बन गरिएको बताएका छन् ।