नेपालगन्ज: यहाँसिथत वेष्टन अस्पतालको लापरबाहीका कारण महिलाको ज्यान गएको आफन्तहरुले आरोप लगाएका छन् । बर्दिया राजापुर नगरपालिका १० की ४३ वर्षिया नारायणी बुढाथोकीको चिकित्सकको लापरबाहीले ज्यान गएको भन्दै आफन्तहरुले नेपालगन्जमा विरोध प्रदर्शन गरेका छन् । पाठेघरमा ट्युमर भएपछि बुढाथोकी असार १४ गते अस्पतालमा भर्ना भएकी थिइन ।
उनको १६ गते मङ्गलबार शल्यक्रियाबाट ट्युमर निकालिएको थियो । उनको मङ्गलबार नै मृत्यु भएको बताइएको छ । शल्यक्रियापछि १६ घण्टा पुग्दा समेत विरामी होसमा नआएपछि परिवारले विरामीको अवस्था जानकारी गराउन चिकित्सकहरुलाई दवाव दिएका थिए । तर, चिकित्सकहरुले भने अवस्था ठिकै छ, श्वासप्रश्वासमा समस्या छ भन्दै टार्दै आएका थिए ।
मृतकका श्रीमान मोहन बुढाथोकीले दवाव दिएपछि मात्र आफुहरुलाई आइसियुमा जान दिएको उनले बताए । विरामीको अवस्था जटिल देखेपछि उनीहरुले राती नै त्यहाँबाट मेडिकल कलेजमा पुर्याएका थिए । तर, मेडिकल कलेजले विरामीको पहिल्यै डेथ भइसकेको जानकारी दियो । नारायणीको डाक्टर कल्पना थापाले शल्यक्रिया गरेको बताइएको छ ।
चिकित्सकहरुको लापरबाहीले विरामीको मृत्यु भएको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै कानूनी कारबाही हुनु पर्ने श्रीमानको माग छ । उनले अस्पतालमाथि कानूनी उपचार खोजिने बताए । पीडित पक्षले दोषिमाथि कारबाहीको माग गर्दै आजै जिल्ला प्रशासनमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।