साईबर क्राईमको माध्यम ‘विद्युतीय उपकरण’


साईबर क्राईमको माध्यम ‘विद्युतीय उपकरण’

सांकेतिक तस्विर

नेपालगन्ज : कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराध साईबर अपराधमा पर्ने गर्छन् । यसमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेटसँग सम्बन्धित आपराधिक गतिविधिहरु पर्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

नेपालको विद्युतीय कारोबार ऐन– २०६३ ‘१’ ले ‘कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने लगायतका कामलाई विद्युतीय कसुर’ भनी परिभाषा गरेको छ ।

इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट धोकाधडी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउण्ट आदिको चोरी गरी गरिने बैंकिङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पु¥याउने क्षति लगायत अवैधानिक कार्यलाई पनि साईबर अपराध मानिने बाँके प्रहरीका सूचना अधिकारी डिएसपी सुबास खड्का बताउँछन् ।

उनकाअनुसार साईबर अपराधका अधिकांश घटनाको सम्बन्ध फेसबुकसँग जोडिएका छन् । फेसबुकपछि साईबर क्राइमका घटनामा म्यासेन्जर, ईमो, इन्स्टाग्राम, अनलाइन ठगी, इमेल ह्याक, एटिएम, भाइबर, ह्वाट्सएप, ट्वीटर र युट्युब अपलोडमार्फत साईबर अपराध हुने गरेको डिएसपी खडका ताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

साईबर अपराधका घटनामा व्यापक बृद्धि भइरहेको तथ्याङ्क प्रहरीमा परेको उजुरीले प्रष्ट पारिरहेको छ । यस आर्थिक वर्षमा देशभरी साईबर क्राइमका करिब ३ हजार वटा उजुरी परेको देखिएको प्रहरी केन्द्रीय कार्यालय अन्र्तगतको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा बताउँछन् ।

उनकाअनुसार आर्थिक वर्ष २०७६/०७७ नेपाल प्रहरीको साईबर ब्यूरोमा २ हजार ९० थान उजुरी परेको छ । त्यसैगरी अपराध महाशाखामा ८ सय ९० वटा उजुरी परेको छ । आर्थिक वर्ष सकिन अझै केही दिन बाँकी रहेकाले साईबर क्राइमको उजुरीमा थप हुनसक्ने प्रहरीको अनुमान छ । अपराध माहाशाखामा परेको उजुरीमध्ये ६ सय ६७ जनाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस अथवा फोटो राखेर गालीगलौज गर्ने काम गरेका छन् ।

लकडाउनको अवधिमा अपराध माहाशाखामा साईबर अपराधका १ सय ४ वटा उजुरी परेका छन् । जसमध्ये चार वटा मुद्धा दर्ता भएको एसएसपी थापाले बताए । उनले भने, ‘चैत, वैशाख र जेठभन्दा असारमा साईबर अपराधका उजुरी बढेका छन् ।’ साईबर ब्यूरोमा परेको २ हजार ९० उजुरीमध्ये धेरै उजुरी नक्कली फेसबुक आइडी बनाई मानमर्दन तथा बेइज्जती गरेको आदि छन् र नक्कली फेसबुक आइडी बनाएको मध्ये १ हजार ४ सय ४८ वटा त्यस्ता आइडीहरु बन्द गराइएको छ ।