नेपालगन्ज : बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ यहाँका नदीमा हुँदै आएको तस्करी रोक्न सक्रियछन् । उनले अबैध सञ्चालन भएका क्रसर उद्योगलाई समेत कानूनी दायरामा ल्याएका छन् । बाँकेमा २७ क्रसर उद्योग मध्ये गैरकानूनी तथा मापदण्ड विपरित देखिएका २४ वटा क्रेसर उद्योगलाई सिडिओ कुरुम्वाङले बन्द गराएका छन् ।
ती क्रेसर उद्योगलाई सिडिओ कुरुम्वाङको सक्रियतामा कारबाही गरिएको छ । काराबाहीमा परेका उद्योगमा नेकपा, नेपाली काँग्रेस लगायत दलका जिल्लादेखि प्रदेश र संघीयतहसम्मका जनप्रतिनिधी तथा नेताहरूको लगानी, मिलेमतोमा अबैध धन्दा मौलाएको भेटिएको छ । यहाँका जनप्रतिनिधीले व्यक्ति विशेषलाई जिम्मेवारी दिएर वा ती व्यक्तिसँग आफू पार्टनर जस्तै बनेर अबैध क्रसर उद्योग चलाईरहेका छन् । यसको एउटा उदाहरण त केही दिनअघिको मनोज पक्राउ प्रकरणले पनि पुष्टि गरिसकेको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा खोलाबाट अबैध रुपमा उत्खनन् गरिएका ढुंगा र गिट्टी खोला किनारमा रखिएको छ । गाउँपालिकाको मधु सामुदायिक वनभित्र मुगेवा खोला किनारमा करोडौं मूल्य बराबरको ढुंगा, गिट्टी थुप्रो पारेर राखिएको छ । उत्खननका लागि वनभित्रै एस्काभेटर समेत लुकाएर राखिएको फेला परेको बाँकेका प्रजिअ कुरुम्वाङ बताउँछन् ।
बा १ क ७६२० नम्बरको एस्काभेटर वनमा लुकाएर राखिएको अस्थामा फेला परेको उनी बताउँछन् । उक्त एस्काभेटर बाबुराजा मल्लको नाममा रहेको सिडिओ कुरुम्वाङले बताए । मल्ल परिवार गण्डकी प्रदेशको प्रदेश जनप्रतिनिधीको पहुँचमा रहेको खुलेको छ । स्याङजाका मल्ल स्याङजा निर्वाचन क्षेत्र २ ‘ख’ का प्रदेश साँसद भागवतप्रकाश मल्लका आफन्त भएको प्रशासनले जनाएको छ ।
बाँकेमा सिडिओ र एसपीले नदीजन्पय पदार्थ उत्खनन तथा अबैध त्रसर उद्योग बन्द अभियान चलाएपछि यस धन्दामा सक्रिय नेता कार्यकर्ता तथा क्रसर व्यवसायीहरू राजनीतिक शक्तिकेन्द्र केन्द्रीत भएका छन् । अहिले नेकपा, काँग्रेस लगायत दलका नेता, कार्यकर्ता तथा क्रसर व्यवसायीमा देखिएका व्यवसायी बुटवल तथा संघीय राजधानी काठमाडौंसम्म पेगिसकेका छन् । उनीहरू जे जसरी हुन्छ उद्योग चलाउन पाउनुपर्ने गृहकार्यमा लागेका छन् । कतिपय ठाउँबाट त यहाँका सिडिओ र एसपीलाई दबाब समेत आइसकेको स्रोतले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ प्राकृतिक स्रोत र साधनको संरक्षणमा अनुगमन आवश्यक रहेको बताउँछन् । राप्तीसोनारी गाउँपालिकाको सामुदायिक वनमै भेटिएको अवैध ढुंगा, गिट्टीका थुप्रालाई तुरुन्तै व्यवस्थापन गरेर चोरको निगरानी गर्न उनले प्रहरी समेत खटाएको जनाएका छन् । मुगुवा खोला किनारमा राखिएका ढुंगा, गिट्टी अहिले राप्तीसोनारी गाउँपालिकाको संरक्षणमा रहेको छ । कानुनतःती नदीजन्य पदार्थलाई राजश्व तिरेर लग्न पाउने व्यवस्था भएको गाउँपालिका प्रमुख लाहुराम थारुले बताए । त्यसका लागि गाउँपालिकाले कति परिमाणमा छ चेकजाँच गरिरहेको जानकारी दिए ।
नदीजन्य पदार्थहरुको अबैध उत्खनन् हुँदासमेत यहाँका जनप्रतिनिधि बेखबर जस्तै बनेका छन् । बाँकेका नदीमा रातभरिमा तस्करले नदी खन्छन् । तर, रोकथाम गर्ने जनप्रतिनिधी वेखबर झै देखिन्छन् । तस्करी रोक्न चुनौती छ । ज्यान नै जोखिममा राख्नुपर्छ प्रजिअ कुरूम्वाङको सक्रियताले नेतादेखि कार्यकर्ता हुँदै क्रसर व्यवसायीको ओठमुख सुकेको छ ।
यसरी अबैध रूपमा नदी दोहनमा सक्रिय हुने, मिलेमतो गर्ने गैरधन्दा चलाउने कुनैपनि दलको जो सुकै नेता कार्यकर्तालाई कारवाही गर्नुपर्ने नेकपा नेपालगन्ज नगर कमिटी सचिव दत्तप्रसाद आचार्य बताउँछन् ।
अबैध रूपमा यसरी नदीजन्य पदार्थ उठाउनेलाई सरकारी ऐन अनुसार कारबाही गरिनुपर्ने घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज्का प्रमुख हुकुमबहादुर ओली बताउँछन् ।