अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारद्वारा मनप्रसाद रेग्मीमाथि विशेष अदालतमा मुद्दा दायर


अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारद्वारा मनप्रसाद रेग्मीमाथि विशेष अदालतमा मुद्दा दायर

नेपालगन्ज : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँसगढीका शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकोछ । अकुत सम्पत्ति आर्जन गरेको देखिएपछि अख्तियारले रेग्मी विरुद्ध मुद्दा दायर गरेको हो ।

नेपालगन्ज वडा नम्बर– ४ गणेशपुर निवासी रेग्मीको सम्पत्ति १२ करोड ८० लाख भन्दा बढी देखिएकोछ । चलअचल सम्पत्ति रोक्काका लागि अख्तियारले प्रकृया अगाडी बढाइसकेको जनाएकोछ ।

जिल्ला शिक्षा कार्यालय बाँकेमा हुदाँ शिक्षक नियुक्ति र विद्यालयलाई दिइने अनुमतिमा भ्रष्टाचार गरेको भन्दै शिक्षा शाखा प्रमुख रेग्मीमाथि अख्तियारले मुद्दा दर्ता गरेको थियो । करिब पाँच वर्षसम्म जागिरविहीन बनेका रेग्मी सफाई पाएपछि पुनः बहाल भएका थिए । उनीमाथि अख्तियारले दायर गरेको यो दोस्रो मुद्दा हो ।

अख्तियार केन्द्रीय कार्यालयले बिशेष अदालतमा मुद्दा दर्ता गरेसँगै उक्त फाईल नेपालगन्जस्थित अख्तियारको सम्पर्क कार्यालयमा थप अनुसन्धान र कारबाहीका लागि भन्दै पठाएको अख्तियारका प्रवक्ता प्रदीप कोइराला बताउँछन् । उनकाअनुसार केन्द्रले सम्पर्क कार्यालयमा मुद्दा पठाइसकेकोले अब सम्पर्क कार्यालयले शाखा प्रमुख रेग्मीकाबारे अनुसन्धान अघि बढाउने छ । अख्तियार केन्द्रको पत्र र निर्देशनअनुसार, अख्तियारको सम्र्पक कार्यालय नेपालगन्जले शाखा प्रमुख रेग्मीको चलअचल सम्पत्ति रोक्काका लागि मालपोत कार्यालयलाई पत्राचार गर्ने तयारी गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाल राष्ट्र बैँक, वित्तीय जानकारी इकाईले गरेको उजुरीमा बर्दियाको बाँसगढी नगरपालिका शिक्षा शाखाका प्रमुख मनप्रसाद रेग्मीको नाममा विभिन्न बैंकहरुमा रहेको खातामा कर्जा कारोबारबाहेक जम्मा तथा खर्च रकम १२ करोड ८० लाख भन्दा बढी देखिएको छ । उक्त उजुरी उपरको अनुसन्धानको क्रममा निजको बैकिङ्ग कारोबार एवं सिर्जित चलअचल सम्पत्ति तथा लगानी खर्चहरुका सम्बन्धमा संकलित प्रमाणका कागजातहरूका आधारमा अख्तियारले अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता प्रदीप कोइराला बताउँछन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँसगढी नगरपालिका शिक्षा शाखाका प्रमुख मनप्रसाद रेग्मी उपर गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको मुद्दा दायर गरेको हो । नेपाल राष्ट्र बैँकबाट प्राप्त हुन आएको उजुरी उपरको अनुसन्धानका क्रममा ४ करोड ५४ लाख ३३ हजार ६ सय ९८ रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको पुष्टि हुन आएको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता कोइरालाले बताए ।

अख्तियारले रेग्मी सार्वजनिक सेवामा प्रवेश गरेको २०५३ कार्तिक २२ देखि २०७६ चैत्र मसान्तसम्मको अवधिलाई जाँच अवधि मानेर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा रेग्मीले आफू एवं श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मीसमेतका नाममा स्रोत नखुलेका सम्पत्तिहरु राखेकोले उनीहरुलाई समेत प्रतिबादी कायम गरी मुद्दा दायर गरेको आयोगका प्रवक्ता कोइराला बताउँछन् ।

अनुसन्धानमा लिएको जाँच अवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा रेग्मीले ७ करोड ३१ लाख ४५ हजार २९० रुपैयाँ खर्च तथा लगानी गरेको देखिन्छ भने २ करोड ७७ लाख ११ हजार ५९२ रुपैयाँ मात्र आयआर्जन गरेको अख्तियारले जनाएको छ । बाँकी आयभन्दा बढी खर्च गरेको रकमहरु बराबरको सम्पत्तिको स्रोत खुल्न नआएबाट निजको बैध आयको तुलनामा ४ करोड ५४ लाख ३३ हजार ६ सय ९८ बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको पुष्टि हुन आएको अख्तियारको ठहर छ ।

गैरकानूनी सम्पत्ति आर्जन सम्वन्धमा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ‘ख’ बमोजिम जफत गर्ने प्रयोजनार्थ विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता कोइराला बताउँछन् ।