File Photo
नेपालगन्ज : नेपालगन्ज स्थित भेरी अस्पतालमा अख्तियार दुरुपयोग आयोगले छापा मारेकोछ । आयोगमा केही दिनअघि अस्पतालमा ल्याइएको कोरोना भाइरस परीक्षण उपकरणमा आर्थिक चलखेल भएको भन्दै भेरी अस्पतालका विरुद्ध उजुरी दर्ता भएको थियो ।
उजुरी दर्ता पछि अख्तियारले अस्पतालका बारे प्रारम्भिक अनुसन्धान गरेकोमा उक्त अनुसन्धानका क्रममा अस्पतालले अख्तियारलाई उपलब्ध गराएको कागजपत्र सन्तोषजनक नदेखिएपछि थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले आज बिहीबार छापा मारेको हो ।
गत असार ४ गते अख्तियारले भेरी अस्पतालमाथि प्रारम्भिक छानविन शुरु गरेको थियो अख्तियार नेपालगन्जका सूचना अधिकारी लोकमणी पाण्डेले भने–‘अस्पतालले अख्तियारलाई उपलब्ध गराएको कागजात हेर्दा छानविन टोलीको चित्त बुझ्दो सुझाव नआएका कारण अख्तियारले बिहीबार थप अनुसन्धानका लागि छापा मारेको हो ।’
थप अनुसन्धानका लागि आवश्यक कागजपत्र माग गरिएको छ । उक्त कागजपत्रमाथि विशेष छानविन गरिनेछ सूचना अधिकारी पाण्डेले भने –‘अनुसन्धानका क्रममा दोषी फेला परे तत्कालै कानूनी कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर हुन्छ ।’
कोरोना भाइरस टेस्ट गर्ने मेशिन लगाएत विभिन्न मेडिकल उपकरण खरिदमा अनियमितता भएको भन्दै उजुरी परेको थियो । अख्तियारका सूचना अधिकारी पाण्डेका अनुसार बायो मेडिकल ईकुपमेन्ट लगायतका मेडिकल उपकरण र औजारहरू टेण्डरबीनै खरिद गरी आर्थिक चलखेल तथा अनियमितता गरेको भन्दै भेरी अस्पताल विरूद्ध अख्तियारमा असार पहिलो साता उजुरी दर्ता भएको थियो ।
उक्त उजुरीमा कोभिड–१९ को निहुँमा अस्पतालले खरिद गरेका उपकरण तथा औजारहरू सरकारको खरिद ऐन तथा नियमावली विपरित टेण्डरबिनै खरिद गरेको उल्लेख गरिएको अख्तियारले जनाएको छ । अख्तियारमा उजुरी दर्ता भएपछि भेरी अस्पतालसँग उक्त उजुरीका बारे स्पष्टिकरण सोधिएको अख्तियारका सूचना अधिकारी पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार–‘अख्तियारमा उजुरी परेपछि अस्पताललाई ७ दिनको म्याद दिएर बायो मेडिकल ईकुपमेन्ट लगायतका सामाग्री खरिदका कागजजात, रसिद, टेण्डर आव्हानको प्रक्रियासँग खरिदको प्रक्रियाका बारे स्पष्ट लिखित जवाफ पठाउन माग गरिएको थियो ।
भेरी अस्पतालमा कोरानाको टेष्टका तथा अन्य प्रयोजनका लागि करोड माथिको मेडिकल उपकरण खरिद गरिएको थियो ।
भेरी अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डाक्टर प्रकाशबहादुर थापाले उजुरी परेको स्वीकार्दै अख्तियारले छानबिन गरिरहेको र अस्पतालले अख्तियारमा परेको उजुरीमाथि छानबिनका लागि सहयोग पनि गरेको बताए ।
यो पनि पढ्नुहोस्