नेपालगन्ज : बर्दियाको ठाकुरबाबा नगरपालिकाको क्वारेन्टिनमा बसेका एक युवकले आईतबार राती आत्महत्या गरेका छन् ।
अछाम बन्निगढी गाउँपालिका घर भइ ठाकुरबाबा–४ सैनवारमा आफन्त कहाँ आएका रामबहादुर साउँदले नगरपालिकाको क्वारेन्टिनमै आत्महत्या गरेका हुन् । क्वारेन्टिन पछाडिको रूखमा आफूले बिच्छाएको तन्नाको पासो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय भुरिगाउँले बताएको छ ।
युवक करिव दश दिन अघि भारतको राजस्थानबाट हिँडेका युवक महेन्द्रनगरहुँदै ठाकुरबाबामा आफन्त कहाँ आएका थिए । आफन्तले क्वारेन्टिनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई प्रहरीले ४ दिन अघि क्वारेन्टिनमा लगेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्शन कृष्णगोपाल चौधरीले उनको आईतबार दिउँसो पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि भेरी अस्पताल नेपालगन्जमा स्वाब परीक्षणका लागि पठाएकाले साँझसम्म रिपोर्ट आउने बताए । रिपोर्ट नआउँदै उनले आत्महत्या गरेका हुन् । उनी डिप्रेशनको बिरामी रहेको बताइएको छ ।