नेपालगन्ज : कोरोना संक्रमणले जर्जर अवस्था देखिएपछि गत वर्षको चैत ११ गतेदेखि नेपाल भारत सीमानाका बन्द छ । सीमानाका बन्द भएको चार महिना वितेको छ । सरकारको निर्देशनपछि बाँके प्रशासन, स्थानीय तहको सक्रियतामा बन्द गरिएको सीमानाका खोलिएको छैन् । र, तत्काल खोल्ने अवस्था पनि छैन् । तर, उक्त नाका हुँदै दिन रातमा तस्करी भने मौलाईरहेको खुलासा भएको छ ।
तस्करहरूले घुमुवा प्रहरीसँगको मिलेमतो र सेटिङमा संक्रमणको अवधिमा समेत जमुनाह बाहेकका सीमानाकाबाट हुने अबैध तस्करी गरिरहेको खुलेको छ । भन्सार नाका जमुनाह पूर्ण रुपमा बन्द छ । तर, यस आसपासका साना छोटी भन्सार नाकाबाट दैनिक अबैद्य बस्तु तस्करी भैरहेको होलियाबासी बताउँछन् । कोरोना संक्रमणको समयलाई मौका छोपी होलिया, बेतनी, पुरैना, हिरमिनिया, साईगाउँलगायतका छोटी भन्सार र नाकाबाट दैनिक अबैध बस्तु भित्रिने गरेका छन् ।
सीमा नाकाबाट अबैध लागुपदार्थका अलावा, कपडा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य सामग्रीहरुको अबैध तस्करी हुँदै आएको बाँके प्रहरीको तथ्याङ्कले समेत देखाउँछ । शनिबार मात्र बाँके प्रहरीले अबैध रुपमा भित्रदैं गरेको ५ सय पिस कुर्ता, एकसय पिस टिसर्ट र २ सय पिस सुरुवाल अबैध नियन्त्रणमा लिएको छ । यसले पनि यो समयमा तस्करी बढ्दै गएको सहजै आँकलन गर्न सकिन्छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १५ जमुनाबाट अवैध रुपमा ल्याउदै गरेको कपडा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास खड्का बताउँछन् । उनकाअनुसार शनिबार नै ३६ सिसी कोरेक्स सहित ३ जनालाई सीमानाकाबाट पक्राउ गरिएको छ ।
डुडुवा गाँउपालिका ५ चौधरीपुरुवाबाट अबैध लागुऔषध सहित सोही ठाँउका अर्जुन चौहान, कल्लु चौहान र भारतको बहराईच बर्गदाहका अजय बर्मालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको उनी बताउँछन् ।