चितुवाको छालासहित ७ जना पक्राउ


चितुवाको छालासहित ७ जना पक्राउ

काठमाडौं : महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले भक्तपुरबाट चितुवाको छालासहित सात जनालाई पक्राउ गरेको छ ।

चाँगुनारायण नगरपालिका सुडालबाट चार र सूर्यविनायकको दार्जिलिङ हाइटबाट तीन गरी सात जनालाई प्रहरीले हिजो साँझ पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनका अनुसार चाँगुनारायण ८, सुडालस्थित सुरेश कार्कीको घरमा प्रहरीले छापा मार्दा कोठा भाडामा लिई बसेका चार जनालाई कालोमा खैरो र सेतो रङको पाटे चितुवाको सुक्खा छाला एकथान र चोरीको मोटरसाइकलसहित पक्राउ गरेको हो । उनीहरुकै बयानअनुसार यसमा संलग्न थप तीनजना सूर्यविनायक ८, दार्जिलिङ हाइटबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रामेछाप सुनापति गाउँपालिका ५ स्थायी घर भई हाल चाँगुनारायण ८ सुडाल बस्ने १९ वर्षीय कुमार लामा, १७ वर्षीय फुसाङ तामाङ, १८ वर्षीय हिमाल लामा, २१ वर्षीय पासाङ तामाङ छन् । त्यसैगरी पक्राउ पर्नेमा काभ्रे तिमाल गाउँपालिकाका ९ घर भई हाल सूर्यविनायक नगरपालिका ८, दार्जिलिङ हाइट बस्ने २२ वर्षीय सञ्जीव सिँजाली मगर, रोशी गाउँपालिका १० घर भई सूर्यविनायक बस्ने २४ वर्षीय दीपेश तामाङ र सोही ठाउँका २३ वर्षीय मिलन मगर छन् ।

प्रहरीले उनीहरुको साथबाट भक्तपुर नगरपालिका ९ का प्रजु सुवालको चोरी भएको बा.९०प ६५१० नम्बरको मोटरसाइकल बरामद गरेको छ । त्यस्तै विभिन्न कम्पनीका मोबाइल नौ थान, सवारी चालक अनुमतिपत्र दुई थान, विभिन्न मोटरसाइकलको नम्बर प्लेट चार थान, मोटरसाइकल एकथान बरामद गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

चितुवाको छालाको गैरकानुनी कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परेका सात जनालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको जानकारी दिँदै परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गिरीले थप अनुसन्धानका लागि चितुवाको छालासहित जिल्ला वन कार्यालयको जिम्मा लगाइने जानकारी दिए । –रासस