नेपालगन्ज : बाँकेको शम्शेरगञ्ज स्थित सशस्त्र प्रहरी चेक पोष्ट नजिकै रोकिराखेको ट्रकमा ठोक्किएर गम्भीर घाईते भएका एक शिक्षकसहित दुईजनाको मृत्यु भएको छ ।
आईतबार विहान पौने पाँच बजे बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ कुसुमबाट नेपालगन्ज आइरहेको भे८प २२३८ नम्बरको मोटरसाईकल सडकछेउ रोकीराखेको ना ४ ख २१३९ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो ।
तीन जना सवार उक्त मोटरसाईकल दुर्घटनामा परि मोटरसाईकल चालक ३२ वर्षिय केवन देवकोटाको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको हो भने ३ वर्षिय बालक लिलाधर खड्काको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको बाँके प्रहरीले जनाएकोछ । मोटरसाईकलमा सवार अन्दाजी २१ वर्षिय कौशिला खड्काको अवस्था भने सामान्य रहेको छ ।
मृतक केवन देवकोटा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ स्थित महाराजा माध्यमिक विद्यालयका शिक्षक हुन् । मृतक तीन वर्षिय बालकलाई सर्पले डस्दा उपचारका लागि नेपालगन्ज आउने क्रममा उनीहरु सवार मोटरसाईकल दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाईते भएका ३ वर्षीय बालकको पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामै घाईते भएकी एक महिलाको भने भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । भने ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको बाँके प्रहरीले जनाएकोछ ।