जिल्ला वनले बैजनाथ रुख कटानको छानविन थाल्यो


जिल्ला वनले बैजनाथ रुख कटानको छानविन थाल्यो

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ रामपुर्वा स्थित नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा गरिएको वन फँडानी । तस्विर : विजय मल्ल/ सेतोखरी

रामपुर्वा (बाँके) : कोरोना भाइरस महामारीको मौका छोपेर बैजनाथ गाउँपालिका वडा नम्बर ५ रामपुर्वामा रहेको सामुदायिक वन फडानी गरिएको विषयमा डिभिजन वन कार्यालय बाँकेले कारबाही प्रक्रिया थालेको छ ।

जिल्ला वनलाई थाहा नदिई बैजनाथको सामुदायिक वनमा रुखहरु काटिएको समाचार सार्वजनिक भएपछि जिल्ला वन कार्यालय बाँकेले कारबाही प्रकृया अगाडि बढाएको हो ।

डिभिजन वन कार्यालय बाँकेका प्रमुख राजु क्षेत्रीले वन फँडानी भएको स्थलमा पुगेर कर्मचारीलाई मुचुल्का उठाई सामुदायिक वनलाई स्पष्टिकरणसहितको पत्र दिदै तत्तकाल केही पनि नगर्न निर्देशन दिएको बताए ।

कोहलपुर सव–डिभिजन कार्यालयका प्रमुख एवम् सहायक वन अधिकृत रामकुमार चौधरीलाई अनुसन्धान अधिकृत तोकेर डिभिजन वन कार्यालयले वन फडानीविरुद्ध कारबाही प्रकृया अघि बढाएको हो । अनुसन्धान अधिकृतसहितको टोली मङ्गलबार घटनास्थलमा पुगेर काटिएका रुखका ठुटाको साईज नापी स्थलगत अनुसन्धान गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

डिभिजन वन प्रमुख क्षेत्रीले सेतोखरीसंग कुरा गर्दै भने–‘वन फडानी सम्बन्धिको समाचार बाहिरिपछि सव–डिभिजन कार्यालय प्रमुख रामकुमार चौधरीलाई अनुसन्धान अधिकृत तोकि अनुसन्धान थालेकाछौं । रुख काटिनुका विषयमा सामुदायिक वनसँग स्पष्टिकरणसहितको जवाफ मागेकाछौं । अनुसन्धानबाट दोषी ठहरिए कानूनी कारबाही हुन्छ ।’

डिभिजन वन कार्यालयको स्वीकृती विना कसैलाई पनि रुख, विरुवा काट्ने अधिकार नभएको बताउँदै डिभिजन वन अधिकृत क्षेत्रीले भने–‘सामुदायिक वन उपभोक्ता समुहले मन्त्रीपरिषद्लाई आवश्यक कागजात पठाएको र सोही अनुसार रुखविरुवा काटेको भन्ने बुझिएकोछ । उक्त कागजात हामीले मागेका छौं । त्यसमाथि छानविन र अनुसन्धान हुन्छ । दोषी ठहरिए कारबाही गर्छौं ।’

सामुदायिक वनले फडानी गरेको उक्त क्षेत्रमा बैजनाथ गाउँपालिका कार्यालय र शुभ प्रभात बहुमुखी पब्लिक क्याम्पस भवन निर्माण गर्ने तयारी छ । कोरोना भाइरस महामारीको मौका छोपेर केही समयअघि करिब एक विघा क्षेत्रफलमा रहेका अकासे, सागुन, सिसौं लगायत बहुमूल्य प्रजातिका ठूलो परिमाणका रुख, विरुवा अबैध रुपमा काटि गुपचुपमै समुहले ब्यवस्थापन गरिसकेको बुझिएकोछ ।

वन समूहले काटेका रुखलाई तत्कालै ‘ब्यवस्थापन’ गरिएपनि रुखका ठुटा भने अहिले ताजै छन् । काटिएका काँचो रुखका ठुटाबाटै प्रष्ट हुन्छ, कि त्यहाँ कत्रा र कति संख्यामा रुख, विरुवा हुर्किरहेका थिए । रुख काटिएको स्थान अहिले उजाड जस्तै बनेको छ । वरिपरी घना जङ्गल भित्र वन काटिएको बाहिरबाट सजहै देखिदैन । जसका कारण सो क्षेत्रमा आउने जोकोहीले पनि त्यहाँको रुखविरुवा नकाटेको बुझ्दछ ।

पूर्वपश्चिम राजमार्गदेखि उत्तरतर्फ ७ किलोमिटर भित्र बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर– ५ रामपुर्वामा रहेको नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रका ती रुख विरुवा बैजनाथ गाउँपालिकाकै अग्रसरतामा काटिएको हो ।

साढे ६ सय उपभोक्ता रहेको उक्त समूहले यसअघि भेलामार्फत बैजनाथ गाउँपालिकाको कार्यालय र शुभ प्रभात बहुमुखी पब्लिक क्याम्पस निर्माणका लागि सामुदायिक वनको ११ विघा क्षेत्रफल उपभोग गर्न दिने निर्णय गरेको भएपनि रुख विरुवा काट्दा डिभिजन वन कार्यालयसँग स्वीकृती भने लिइएन । सोही निर्णय बमोजिम गाउँपालिकाले त्यहाँको रुखविरुवा काटेको हो ।

सामुदायिक वन क्षेत्र कुल ५२.६३ हेक्टरमा करिव ५ हेक्टर जमिनमा गाउँपालिका र क्याम्पस बनाउन उपभोक्ता समुहले निर्णय गरेको बुझिएकोछ ।

यो पनि पढ्नुहोस् 

जिल्ला वनलाई थाहा नदिई बैजनाथमा रुखहरु काटिए