११ हजारमा किनेको चित्तलसहित दुई जना पक्राउ


११ हजारमा किनेको चित्तलसहित दुई जना पक्राउ

नेपालगन्ज : ११ हजारमा खरिद गरि ल्याएको चित्तलसहित बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का २३ वर्षीय सामेल रोका र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ निवासी २८ वर्षीय अन्जन हमाललाई मारेको चित्तलसहित पक्राउ गरेको हो ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर–६ फत्तेपुरबाट नेपालगन्जतर्फ बोरामा राखेर ल्याउँदै गरेको अवस्थामा डुडुवा गाउँपालिका वडा नम्बर ४ राप्तीनदी पुलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ कुण्डाचोकमा जंगली जनावर (चित्तल) मारेको भन्ने सूचनाको आधारमा जिप्रका र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले रोकाले चलाई ल्याएको भे ८ प ५४६५ नम्बरको मोटरसाईकलमा बोकेर ल्याएको चित्तल फेला पारिएको बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए ।

उनका अनुसार घाँटी काटी मारेको अवस्थामा बोरामा लुकाएर नेपालगन्ज ल्याउदै गर्दा नियन्त्रणमा लिइएको पोथी जातको उक्त चित्तलको तौल करिव २५/२६ किलो रहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

घटनाको अनुसन्धान भइरहेको बताउदै एसपी रानाले प्रारम्भिक अनुसन्धानबाट बरामद चित्तल राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ ढलैया निवासी रामु ओलीबाट रोका र हमालले ११ हजार रुपैयाँमा खरिद गरेर ल्याएको बुझिएको छ । ‘रामुले आफै मारेको वा अन्यबाट खरिद गरेको हो, यसबारे खुल्न आएको छैन, थप अनुसन्धानबाट खुल्छ’ रानाले भने ।

पक्राउपरेकाद्वय अभियुक्तलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिमको सजाय हुने प्रहरीले जनाएको छ । उक्त ऐन अनुसार १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने ब्यवस्था रहेको छ ।