नेपालगन्ज : चाडबाड विशेष सुरक्षा योजना कार्यान्वयनमा बाँके प्रहरीले तदारुक्ता देखाएकोछ । चाडबाड विशेष योजना अघि सारेको बाँके प्रहरीले यसको कार्यान्वयनलाई तिव्रता दिदै सोमबार सीमामा सहायता कक्ष स्थापना गरेको छ ।
भारतबाट फर्किने नागरिकहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ जमुनाह नाकामा सहायता कक्ष स्थापना गरिएको छ । दशै तिहार, छठ पर्वका अवसरमा भारतबाट नेपाल आउने नागरिकहरुलाई दुःख नहोस् भन्दै नागरिक साहयता कक्ष स्थापना गरिएको बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले बताए ।
जमुनाह नाकामा स्थापना गरिएको नागरिक सहायता कक्षको एसपी रानाले उद्घाटन गरेका छन् । चाडपर्वका बेला लुटपाट, चोरी, झैझगडा बढी हुने गरेकाले त्यस्को न्यूनिकरणका लागि नागरिक सहायता कक्षले सहयोग पुर्याउने बाँके प्रहरीले बताएकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँके, सशस्त्र प्रहरी बल नेपाल बर्डर आउट पोष्ट र ईलाका प्रहरी कार्यालय जमुनाहको समन्वमा उक्त सहायता कक्ष सञ्चालनमा आएको हो ।
सोक्रममा सशस्त्र प्रहरी बल नेपाल बर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरीक्षक जिवलाल बुढाथोकी, जमुनाह ईन्चार्ज विष्णु गिरी, वडा नम्बर १५ का वडाअध्यक्ष वल्लन कबडिया लगायतको सहभागिता रहेको थियो ।