नागमणीदेखि लोपोन्मुख वन्यजन्तु रेडपाण्डाका छालासहित कारोबारी पक्राउ


नागमणीदेखि लोपोन्मुख वन्यजन्तु रेडपाण्डाका छालासहित कारोबारी पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले जिल्लामा अपराध न्यूनिकरण तथा रोकथाममा सक्रियता देखाएसगैं एकपछि अर्का ठूला सफलता प्राप्त गरिरहेकोछ । जिल्लामा हुनेगरेका तथा सम्भावित अपराध न्यूनिकरणमा आक्रमक शैलीमा प्रस्तुत बनेको बाँके प्रहरीले एकपछि अर्को सफलता प्राप्त गरेको हो ।

कोरोना भाइरस महामारीकाबीच जिल्लामा अपराध तथा कानून विपरितका कार्यहरु नरोकिएपछि बाँके प्रहरीले आफ्नो मातहतका सम्पूर्ण साधन स्रोतलाई चलयमान बनाएकोछ ।

प्रहरीको सक्रियता बढेसगैं बाँके प्रहरीले फच्छर्यौट हुन बाँके अपराध तथा मुद्दालाई पनि सगसगैं पूर्णता दिइरहेकोछ । त्यसो त बाँके प्रहरीले जिल्लामा हुने सम्भावित अपराध तथा अपराधका प्रकृतिलाई बुँदागतरुपमै उल्लेख गरि आक्रमकरुपमा अघि बढेको यो पहिलो होइन । यसअघि विभिन्न अपराधमा फरार रहेका अभियुक्त पक्राउ गर्दै प्रदेशमै चर्चा बटुलेको बाँके प्रहरीले फेरी आफ्नो सफलतालाई निरन्तरता दिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँके प्रहरी प्रमुखका रुपमा सरुवा भइ आएदेखि प्रहरी उपरीक्षक ओमबहादुर रानाको क्रियाशिलता, कार्यशैली, रणनीतिक योजना तथा दक्ष मानवस्रोतको परिचालनले यतिबेला बाँके प्रहरी सफलताको पथमा अग्रसर छ । यसको ज्वलन्त उदाहरण बनेकोछ नागमणीको कारोबार गरि करोडौं कुम्ल्याउने गिरोहदेखि लोपन्मुख वन्यजन्तु रेडपाण्डासहितका ब्यक्तिलाई पक्राउ गरि कानूनी दायरामा लिएकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले मङ्गलबार पत्रकार सम्मेलन गर्दै यी पाँच घटनाको पर्दाफास गरेको हो । यसले बाँके अपराध र अपारधीको मुख्य केन्द्र रहेको पुष्टि गर्छ ।

बहुमूल्य नागमणी आफूसंग भएका बताउँदै घोराही उप–महानगरपालिका वडा नम्बर –१७ बस्ने माधव प्रसाद घिमिरेबाट एक करोड ८९ लाख ५० हजार कुम्ल्याउने दैलेख नौमुले गाउँपालिका वडा नम्बर ४ बस्ने ३५ वर्षिय धन बहादुर रोका, सल्यान कुमाख गाउँपालिका वडा नम्बर ५ बस्ने ३१ वर्षिय कृष्ण शाह र सल्यान शारदा नगरपालिका वडा नम्बर ९ बस्ने ३० वर्षिय डिल्ली बहादुर बोहरालाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझीबाट बाँके प्रहरीले पक्राउ गर्न सफल भएकोछ ।
बहुमुल्य नागमणी आफूहरुसगं रहेको र उक्त नागमणीले घरमा लक्ष्मीको बास हुने, परिवारका सदस्यको आयु लामो हुने, घर परिवारमा सुःख शान्ती, सम्बृद्धी हुने भन्दै ललाई फकाई गरि प्रलोभनमा पारी उनीहरुले घिमिरेबाट एक करोड ८९ लाख पचास हजार रकम ठगी गरेका थिए । प्रहरीले उनीहरुबाट ठगी गरि लिएको नगद ४० लाख सहित पक्राउ गरि अनुसन्धान कार्य अघि बढाएकोछ ।

प्रहरीका अनुसार पक्राउ परेका तीनैजनालाई मुलुकी फौजदारी कार्यबिधी संहित २०७४ को दफा २४९ अनुसार ७ वर्षसम्म कैद तथा ७० हजारसम्म जरिवाना हुनेछ ।

यस्तै बाँके प्रहरीले लोपन्मुख वन्यजन्तु रेडपाण्डाको छालासहित ४ जनालाई नियन्त्रणमा लिएकोछ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर – ११ बसपार्क स्थित न्यू राप्ती होटलमा लोपोन्मुख वन्यजन्यु रेडपाण्डाको छालाको ओसारपसार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट गएको विशेष प्रहरी टोलीले मङ्गलबार बिहान अन्दाजी ९ बजेको सो होटलमा तलासी गर्दा होटलको कोठाको कोठा नम्बर–४ बाट सुर्खेत बराहताल गाउँपालिका वडा नम्बर ५ २७ वर्षिय सोही ठेगानाका २८ वर्षिय लालबहादुर नेपाली, दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर–५ बस्ने २२ वर्षका दिनेश कार्की र सोही ठेगाना भएका २७ वर्षिय उमेश बहादुर थापालाई रेडपाण्डाको एक थान छालासहित पक्राउ गरेको हो ।

उनीहरुबाट बरामद भएको निलो झोला भित्र २ फिट २ ईन्च लम्बाई भएको लोपोन्मुख वन्यजन्यु रेडपाण्डाको छाला एक थान फेला पारी बाँके प्रहरीले अनुसन्धान अघि बढाएकोछ ।

बाँके प्रहरीका अनुसार पक्राउ परेका यी चार जना युवालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिमको १० लाखसम्म जरिवाना र ५ वर्षदेखी १० वर्षसम्म कैद वा दुवै सजाय हुने जनाएकोछ ।

बाँके प्रहरीले ठूलो मात्रामा लागुऔषध अफिम सहित एकजनालाई पक्राउ गर्न सफल भएकोछ । कार्तिक १५ गते करिब ३ बजेको अवधिमा बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नम्बर– १ कुशुम नाका हुदँै केही मानिसले लागुऔषध अफिम नेपालगन्जतर्फ ल्याउन लागेको भन्ने बिशेष सूचना पाएको बाँके प्रहरीले ३ किलो लागुऔषध अफिमसहित रुकुम (पश्चिम) सानीभेरी गाँउपालिका वडा नम्बर ८ आमडाँडाका २७ वर्षिय चन्द्रप्रकाश ओलीलाई पक्राउ गर्न सफल भएकोछ ।

बाँके राप्तीसोनारी गाँउपालिका वडा नम्बर–१ शिवखोला स्थित शंकास्पद रुपमा रहेका ओलीलाई चेकजाँच गर्दा उनले पिठ्युमा बोकेको कालो खैरो रङको झोला भित्र कालो प्लाष्टिकले बेरेर राखेको ३ किलोग्राम लागुऔषध अफिम बरामद गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पक्राउ परेका ओलीलाई यतिबेला जिल्ला प्रहरी कार्यालय बाँकेमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्ष रानाले जानकारी दिए । पक्राउ परेका ओलीलाई लागुऔषध तथा नियन्त्रण ऐन २०३३ अनुसार १५ वर्षदेखी जन्मकैद र ५ लाखदेखी २५ लाखसम्म जरिवाना हुने प्रहरीले जनाएकोछ ।

यसैगरी, नेपाल सरकारद्वारा प्रतिबन्धित नेकपा (विप्लव) समूहले बाँके जिल्लामा बिभिन्न गतिबिधी सञ्चालन गर्न लागेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट गएको विशेष टोलीले विप्लवका बाँके जिल्ला सदस्य कालिकोट नरहरीनाथ गाउँपालिका वडा नम्बर–६ बस्ने २६ वर्षिय भरत विक, बाँकेका जिल्ला कमिटी सदस्य रहेका कालिकोट सानीत्रिवेणी गाउँपालिका वडा नम्बर–९ बस्ने ३० वर्षिय राम बहादुर तिरुवा र अछाम कमलबजार नगरपालिका वडा नम्बर –६ बस्ने २६ वर्षिय अनेरास्ववियु क्रान्तिकारी जिल्ला अध्यक्ष बाँकेका डिबि शाही भन्ने डम्बर बहादुर शाहीलाई पक्राउ गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।

यस्तै दुई भारतीय नागरिकसहित ४ जनालाई लागुऔषध ब्राउन सुगरसहित बाँके प्रहरीले नियन्त्रणमा लिएकोछ । लागू औषध नियन्त्रण व्यूरो नेपालगन्ज शाखा र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विषेश प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –१३ उदयपुरको किसान ईटाभट्टा नजिकबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

भारत रुपैडिहा सांकेतनगर बस्ने २८ वर्षका राकेश कुमार सोनी र सोही ठाउँ बस्ने १९ वर्षका जुगेन्द्रर सोनी, खजुरा गाउँपालिका वडा नम्बर–३ बी गाँउ बस्ने १९ वर्षका बिण्णु थापा क्षेत्री र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– २ घरबारीटोल बस्ने २५ वर्षका सागर थापाबाट गरि २२ ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेकोहो ।

लागुऔषध ब्राउनसुगरको कारोबार भइरहेको खबर पाएको प्रहरीले उनीहरुको तलासी लिदा भारत रुपैडिहा बस्ने राकेश कुमार सोनीले लगाएको पाईन्टको दाहिने खल्तीमा २० पुडियामा राखेको २० ग्राम तथा विष्णु थापा क्षेत्रीले लगाएको बाँया जुत्ता भित्र दुई वटा प्लाष्टिक पुडिया बनाई राखेको २ ग्राम ब्राउनसुगर बरामद गरि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएकोछ ।

लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका यी चारैजना युवालाई लागुऔषध तथा नियन्त्रण ऐन २०३३ अनुसार ५ वर्षदेखी १० वर्षसम्म कैद र ५ हजार देखी २५ हजारसम्म जरिवाना हुने प्रहरीले जनाएकोछ ।

नगारिक र प्रहरीबीचको समन्वय र सूचना प्रवाहका कारण अपराध न्यूनिकरणमा बाँके प्रहरीलाई सफलता मिलिरहेको बाँकेका प्रहरी प्रमुख राना बताँउछन् ।

उनले भने–‘जिल्लामा अपराधका घटना बढेका होइनन् । नागरिक र प्रहरीबीचको समन्वय बढेको हो । प्रहरीको सक्रियताले अपराधमा संलग्न ब्यक्तिलाई पक्रन सफल भएका हौं ।’