एक बालक सहित ६ जनालाई खाने नरभक्षी बाघ नियन्त्रणमा लिइयो


एक बालक सहित ६ जनालाई खाने नरभक्षी बाघ नियन्त्रणमा लिइयो

बर्दिया : एक बालकसहित ६ जनालाई खाने नरभक्षी बाघ नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले आईतबार दिउँसो डार्ट गरी उक्त नरभक्षी बाघ नियन्त्रणमा लिएको हो । दुई महिनादेखि आतंक फैलाएको नरभक्षी बाघ नियन्त्रणमा आएसगैं यतिबेला बर्दियाबासीले सुरक्षितको आभाष गर्न थालेकाछन् ।

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार नियन्त्रणमा लिइएको उक्त नरभक्षी बाघलाई यतिबेला बर्दिया राष्ट्रिय निकुञ्जको केजमा राखिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले निकुञ्जको मध्यवर्ती क्षेत्र राजीपुर क्षेत्रबाट बाघ नियन्त्रणमा लिइएको बताए । उनका अनुसार नरभक्षी बाघ नियन्त्रणमा लिनका लागि बाघ आउने सम्भावित ठाउँको पहिचान गरि क्यामेरा जडान गरिएको थियो ।

क्यामेरा जडान गरि बाघको खोजीमा लागेको बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक टोलीले झण्डै दुई हप्ता लामो प्रतीक्षापछि डार्ट गरी पाटे बाघ समात्न सफल भएको उनले बताए । उनले नियन्त्रणमा लिइएको भाले बाघलाई कहाँ लैजाने भन्ने छलफल शुरू भएपनि टुङ्गो नलागेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

पछिल्लो समय बर्दियामा बाघले घर पालुवा जनावरसँगै मान्छेमाथि आक्रमण गर्ने र ज्यान लिने क्रम बढेपछि सर्वसाधारण त्रसित बनेका थिए । बाघको आक्रमणबाट बर्दिया मध्यवर्ती क्षेत्रमा दुई महिनाको अवधिमा एक बालकसहित ६ जना सर्वसाधारणको मृत्यु भइसकेको छ ।

त्रासको वातावरणमा रहेका बर्दियाका मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका स्थानीयले २ महिनादेखि बाघ नियन्त्रणमा सम्बन्धित निकायले प्रभावकारीरुपमा केही गर्न नसकेको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।

बाघले आतंक मच्चाएपछि स्थानीयको आग्रहमा निकुञ्जले त्यसको खोजी र पहिचान गरी नियन्त्रणमा लिएको हो । यद्यपी सो क्षेत्रमा भने अझै वन्यजन्तुको त्रास भने कायमै रहेकोछ ।

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर–३ मा रहेको बेलझुण्डी सामुदायिक वनमा बाघले एक बालक सहित ५ जना तथा बर्दियाको गेरुवा गाँउपालिका वडा नम्बर–४ राजिपुर निवासी ६१ वर्षिय लाहनु थारुसहित ६ जनालाई मारेको थियो ।